म जन्मेको देशले मलाई सधैँ शरणार्थीकै रुपमा हेरिरह्यो !

म जन्मिदा आफूलाई शरणार्थीको रुपमा पाएँ । अलिकपछि म नेपाली भाषी भुटानी हुँ भन्ने कुरा अरुले सिकाए ।
मेरो स्थानीय छिमेकी र मैले बोल्ने भाषा अनि मनाउने चाडपर्व एउटै थियो तर म भुटानी र उ नेपाली कसरी भन्ने प्रश्न मलाई सानैदेखि उब्जेको थियो पछि उत्तर आफै प्राप्त गरें । मलाई शिविरे अनि भुटंगे शब्द प्रिय लाग्थे तर, केही व्यक्तिहरुले त्यो शब्दले मलाई पोल्छ भनेर कहिले कहिं मप्रति प्रयोग गर्थे ।

जन्मेदेखि २० वर्षसम्म भाषा, रितिरिवाज, संस्कार, संस्कृतिलगायत सबै कुरा मिल्ने नेपाल भन्ने देशमा शरणार्थीको रुपमा बसियो । त्यसपछि भाषा, संस्कार सस्कृति नमिल्ने अमेरिका भन्ने देशमा आप्रवासीको रुपमा बसिरहेको छु अनि करिब ५ वर्ष पछि म यो देशको नागरिक हुने कुरामा पक्का छु । जन्मेदेखि मेरो नामको नागरिकता बनेको छैन । म जन्मेको देशले मलाई शरणार्थीको रुपमा परिभाषा गर्थ्यो ।

जन्मेको २० वर्षसम्म त्यहाँ नै बस्दा पनि म जन्मेको देशले मलाई नेपाली नागरिक भन्न सकेन । मेरो बुबा मम्मीको भुटानको नागरिकता थियो भन्ने कथा सुनेको छु तर मेरो निधारमा अमेरिकाकै नागरिकता प्रप्ता गर्छस् भन्ने लेखेको रहेछ । यहाँ मेरो भाषा मिल्दैन, मैले मनाउने चाड पर्व यो देशको राष्ट्रिय चाड पर्वमा पर्दैनन् तर, म यहाँ शरणार्थीको होइन ।

सबै कुरा मिल्ने देशमा शरणार्थी भइयो अनि प्राय कुरा नमिल्ने देशको नागरिक हुने पक्कापक्की छ । सामान्य शब्दमा परिभाषा गर्नुपर्दा, अरुको शरणमा रहेका व्यक्तिलाई शरणार्थी भनिन्छ । आफ्नो राज्यको सीमाना पार गरेर कुनै पनि तेस्रो मुलुकमा गास, बास र सुरक्षाको व्यवस्था साथ शरण लिनेहरु पनि शरणार्थी हुन् ।
मूलत: शरणार्थी राष्ट्रियता र नागरिकताविहीन व्यक्ति हुन् । हरेक वर्षको जुन २० तारिकको दिन विश्व शरणार्थी दिवस पर्छ । यही बुधबार विश्व शरणार्थी दिवस हो । राष्ट्रियता र राष्ट्रविहीन व्यक्तिहरुको लागि त्यो दिन विशेष दिन पर्न जान्छ । सो दिन विश्वका शरणार्थीले विभिन्न कार्यक्रमको आयोजन गरी आफ्नो दु:ख र पीडा पोख्ने गर्छन् ।

संयुक्त राष्ट्र संघले सन् २००१ देखि प्रत्येक वर्ष जुन २० लाई विश्व शरणार्थी दिवसको रुपमा घोषणा गरेको छ । शरणार्थी व्यक्तिसँग धेरै पीडा र दु:खका कुराहरु हुन्छ तर शरणार्थी बुझिला वस्तु होइनन् । उनीहरुले शरण प्रदान गर्ने मुलुकमा केवल लुगाको एउटा पोको अनि आफ्नो शरीर मात्र बोकेर आएका हुँदैनन् । शरणार्थीसँग भएको सीप, साहस, प्रतिभा, जाँगर र अनुभव कहिल्यै पनि शरणार्थी हुन्न । शरणार्थी पेट भर्ने काममा मात्र भोका नभई मानवीय व्यवहार प्राप्त गर्न पनि लालयित हुन्छन् ।

शरणार्थीको समस्यालाई दिगो समाधान गर्नको लागि सारोकारवालाहरु लागि परिरहेको देखिन्छ । भुटानी शरणार्थीको विषयमा लेख्नु पर्दा, शरणार्थीको दिगो समाधानको निमित्त रहेको स्वेच्छिक प्रत्यागमन, स्थानीय एकीकरण विलयन अनि तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत तेस्रो मुलुक पुनर्वास कार्यक्रम मात्र सुरु भएर लगभग अन्त्य भैसकेको छ भने अरु दुई विकल्प हाल सुरु भएको छैन । भुटानी शरणार्थीले स्वेच्छिक प्रत्यागमन चाहे पनि त्यो समाधानलाई कुनै पनि सरोकारवालाहरुले थालानी गरेका छैनन् ।

विभिन्न संगठनहरुले सु अभियान सुरु गर्ने भने पनि त्यो गफैमा सीमित भएको छ । स्वेच्छिक प्रत्यागमन भन्ने स्वदेश फिर्ती भन्ने बुझिन्छ । समान्यत: शरणार्थी बनिसकेपछि मानिस आफ्नो देश फर्कन चाहँदैन भन्ने सोच गलत हो । शरणार्थीको एउटा सपना रहेको छ, कुनै न कुनै दिन आफ्नो देश फर्किने । आफ्नै देशको माटोमा आन्तिम सास फेर्ने ।

त्यस्तै भुटानी शरणार्थी समस्यामा थालनी नभएको अर्को समाधान हो स्थानीय एकीकरण विलयन । भूटार्नी शरणार्थी नेपाली भाषीहरु हुन् । उनीहरुको भाषा संस्कृति र पहिचान नेपालीहरुसँग मिल्न जान्छ । त्यसै कारण उनीहरुलाई एकीकरण गर्दा खासै फरक पर्ने पनि विषय छैन । अन्त्यमा, शरणार्थी पनि मानिस हुन्, उनीहरु पनि अरु मानिस झैँ बाँच्न र हास्न चाहन्छन् !

[pt_view id=”9affe526c9″]

Comment here