चितवनका मृगौला पिडितलाई आर्थिक संकलन जारी,२ लाख ५६ हजार ५ सय ३० रुपैया हस्तान्तरण

शिशिर सिंखडा
खोलेसिमल, चितवन, २१ मंसिर ।
दुवै मृगौला फेल भएका रत्ननगर ४ भोकाहा, शितलचोक निवासी सुमन परियारको उपचारार्थ आर्थिक संकलन जारी रहेको छ । हाल संयुक्त अरब इमिरेट्स (दुबई) मा कार्यरत २५ वर्षीय सुमनको उपचारको लागि कालिका नगरपालिका स्थित खोलेसिमल बजार व्यवस्थापन समितिको अगुवाईमा रकम संकलन गरिएको थियो । रकम संकलनको क्रममा खोलेसिमल बजार, लाहुरेचोक, क्लवचोक, सिद्धि विनायक आवासीय मा.वि., श्री आधारभूत विद्यालय समीपुर, रत्ननगर पिठूवा क्षेत्र तथा साना किसान सहकारी संस्था पदमपुरबाट समेत रकम संकलन भएको थियो ।
सो विभिन्न क्षेत्रमा संकलन भएको कुल २ लाख ५६ हजार ५ सय ३० रुपैया मृगौला रोगी सुमन परियारको आमा चम्फा परियारलाई आज खोलेसिमल बजारमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको थियो । विगत साढे २ वर्षदेखि आबुधाबी स्थित टिम हन्ट्स कफी सपमा कार्यरत सुमनको दुवै मृगौला काम नगर्ने भएपछि अहिले उनी ३ हप्तादेखि आबुधाबीकै खालिफा अस्पतालमा उपचाररत छन् । उनलाई गत हप्ता नै थप उपचारका लागि नेपाल पठाउने तयारी भएपनि उनको स्वास्थ्य अवस्थाको कारण ल्याउन नसकिएको सुमनकी आमा चम्फा परियारले बताइन् । छोरा कार्यरत कम्पनीले हाल सामान्य उपचार गराइदिएपनि उनको मृगौला प्रत्यारोपण भने नगरिदिने भएकोले नेपाल ल्याई उनले आफ्नै मृगौला प्रत्यारोपण गर्न लागेको समेत उनले बताइन् । अर्को हप्ता छोरालाई नेपाल ल्याउने तयारी रहेको उनले बताइन् । १ हप्ता अगाडि छोराको स्याहार सुसारको लागि दुबइ गएकी सविता परियारका अनुसार अर्को हप्ता नेपाल पठाउन अस्पतालले तयारी गरेको बताइन् ।
छोराको उपचारको लागि रत्ननगर क्षेत्रमा पनि रकम संकलन भइरहेको उनले बताइन् साथै अन्यत्र पनि रकम संकलन गर्न आफूले अनुरोध समेत गरेको उनले बताइन् । हालसम्म करिब ७ लाख रुपैया संकलन भएको उनले बताइन् ।
छोराको उपचारको लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले करिब ४० लाख रुपैया खर्च लाग्ने अवस्था छ, उनका बुबा शितल बाबु परियारले भने । छोराको जीवन रक्षाको लागि सबै क्षेत्रबाट सहयोग गरिदिन उनले अपिल समेत गरेका छन् ।

Comment here