देवघाटधाम माघे संक्रान्ति मेलाको तयारी अन्तिम चरणमा

आशिक राना
चितवन । देवघाटधाममा हुने माघे संक्रान्ति मेलाको तयारी अहिले अन्तिम चरणमा पुगन लागेको छ ।
देवघाट क्षेत्र विकास समितिको समन्वयमा आज जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर तालिम केन्द्रबाट प्रहरी जवानहरुसहित बिभिन्न संघ संस्थाको सहभागीतामा देवघाटको वेणी संगममा सरसफाई गरीएको छ ।
साथै चितवनतर्फको देवघाट क्षेत्रको किनारमा भने नेपाली सेना र सशस्त्र प्रहरीहरुले सरसफाई गरेको छ ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि माघे संक्रान्तिमा हुने देवघाट मेलाको पूर्व सन्ध्यामा देवघाटधामको वेणी संगममा सरसफाई गरीएको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक भरत बहादुर विश्कर्माले जानकारी दिनुभयो ।

हरेक वर्षको माघे संक्रान्ति मेलामा जस्तै यसवर्ष पनि भक्तजनहरुलाई मध्यनजर गरेर समुचित प्रबन्ध सहित मेलालाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण तरीकाले सम्पन्न गर्न तयारी गरिरहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल व्यवस्थापन समिति र मेला व्यवस्थापनका लागि सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत, ट्राफिक जस्ता विभिन्न २३ सदस्यीय उपसमिति गठन गरेर तयारी तिव्र रुपले भैरहेको उहाले बताउनुभयो ।
पौडेलका अनुसार यसवर्ष मेला भर्न नेपाल र भारतका विभिन्न स्थानबाट गरी कम्तीमा पनि ५ लाख भक्तजनहरु देवघाट आउने अनुमान गरिएको छ ।

हरेक वर्ष मेला भर्नेको संख्या बढ्दै गएको हुदा मेला व्यवस्थापनमा चुनौती समेत थपिदै गएको उहाको भनाइ छ ।
चितवन, तनहु र नवलपरासी जिल्लाको संगमस्थल तथा त्रिशूली र कालीगण्डकी नदीको वेणी संगममा मेला हुने भएकाले ३ वटै जिल्लासंग समन्वय गरेर तयारी गरिरहेको उहाले बताउनुभयो ।

Comment here