मन्तव्य राखेलगत्तै वडाध्यक्षको निधन

माघ २७, पाँचथर ।

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएको छ । पाँचथरको घुर्बिसेमा शनिबार आयोजित एक कार्यक्रममा मन्तव्य दिएलगत्तै उनी अचेत भएका थिए ।

क्षमता विकास तालिमको मन्तव्यपछि कुर्सीमा बस्नेबित्तिकै मुर्छा परेर लडेका उनको उपचारका लागि इलाम अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए । अध्यक्ष नेम्वाङ रक्तचापका बिरामीसमेत थिए । प्रमुख अतिथिको रूपमा उपस्थित उनी मन्तव्य राखिसकेपछि कुर्सीमा बसेलगत्तै बेहोस भएको नेम्वाङका सहयोगी मनिचन्द्र चेम्जोङले जानकारी दिए । कुर्सीमा मुर्छा परेपछि उनलाई तत्कालै बोकेर स्थानीय उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि इलाम जिल्ला अस्पताल रिफर गरिएको थियो ।

इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पवनजंघ रायमाझीका अनुसार अस्पतालमा आउँदा नेम्वाङको मुटुको चाल र रक्तसञ्चार बन्द भइसकेको थियो । मुर्छा परेलगत्तै निधन भइसकेको हुन सक्ने चिकित्सकले जानकारी दिएका छन् । गत वर्षको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष बनेका नेम्वाङ ०४९ र ०५४ मा पनि साबिक पौवासारताप गाविसको अध्यक्ष थिए ।

नेम्वाङ साहित्यमा समेत दख्खल राख्दथे । उनको साँझको अवसान तरेलीहरु कविता र अमेरिका भ्रमणका केही सम्झनाहरू संस्मरण प्रकाशन भइसकेका छन् । नेम्वाङलाई यसैवर्ष नेपाल सरकारले सुप्रवल जनसेवा श्रीबाट समेत विभूषित गरेको थियो ।

Comment here