पूर्वी चितवनको रत्ननगरमा धमाधम ठुला पूर्वाधार निर्माण हुँदै

रत्ननगर ३० फागुन । रत्ननगर नगरपालिकाले नगरवासीलाई विकासको अनुभूति हुने गरी पहिलो चरणमा तीन ठुला पूर्वाधार निर्माण सुरु गरेको छ । रत्ननगर नगरपालिकाले केन्द्र र प्रदेश र आफ्नै लगानीमा ठुला योजना निर्माणलाई तीब्रता दिएको हो । ठुला योजना अन्तर्गत रत्ननगर ५ टरौलीमा नेपाल केन्द्रीय कृषि सहकारी तालिम केन्द्र तथा प्रशासनिक भवन,वडा नं ९ मा टिकौली इको कल्चरल पार्क र वडा नं १ मा रत्ननगर सभा हल निर्माणको काम भइरहेको मेयर नारायण वनले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत टरौलीमा केन्द्रीय स्तरको तालिम केन्द्र निर्माणको काम सुरु भएको छ । २ करोड ३५ लाखको लगानीमा निर्माण हुने सो तालिम केन्द्रमा सहकारी सम्वन्धी राष्ट्रिय स्तरका तालिम,गोष्ठी र प्रशिक्षण हुने छ । यस अघि बनेका दुई वटा भवनको माथिल्लो तला उठाउने र एउटा नयाँ भवन निर्माण गर्ने योजना रहेको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकासचन्द्र ढुंगानाले जानकारी दिए । सो काम निर्माणका लागि टेण्डर आह्वान भइसेको र चालु आर्थिक बर्षको असार सम्ममा निर्माण कार्य सम्पन्न गर्न योजना रहेको इन्जिनियर ढुंगानाले बताए । भवन निर्माण भइसकेपछि नेपाल केन्द्रीय सहकारी संघको कार्यालय समेत सोही ठाउँमा रहने बताइएको छ । शहरी विकास मन्त्रालयको लगानीमा रत्ननगर १ भक्तिनीमा बहुआयमिक रत्ननगर सभाहल निर्माण भइरहेको छ । १८ करोडको लगानीमा ५०० क्षमताको सभाहल निर्माण भइरहेको छ । ४ तले भवनमा एउटा ठुलो र तीन वटा मिनीहल निर्माण हुने छ । सो सभाहल निर्माण भएपछि सौराहाको पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने मेयर वनले बताए । सो सभाहलका कारण रत्ननगरमा राष्ट्रिय स्तरका कार्यक्रमहरु रत्ननगरमा हुने र आन्तरिक पर्यटन प्रर्बद्धन हुने उनको भनाई छ । भवन निर्माण पुरा भएपछि मन्त्रालयले रत्ननगरलाई हस्तान्तरण गर्ने र त्यसको सञ्चालन नगरपालिकाले गर्ने छ । उता नगरपालिकाले पर्यटनको नयाँ गन्तव्यको रुपमा टिकौलीमा इको कल्चरल पार्क निर्माणलाई अगाडि बढाएको छ । नगरपालिकाको ५० लाख प्रदेश सरकारको ५० लाखको लगानीमा पार्क निर्माण गर्न लागिएको मेयर वनले बताए । यस अघि नगरपालिकाले करिव ५० लाख खर्चेर पूर्वाधार निर्माण गरिसकेको छ । सो पार्क भित्र आदिवासी थारु,मगर,गुरुङ,तामाङ,दराई,चेपाङ र कुमाल समुदायका परम्परागत साँस्कृतिक घर निर्माण गरिने छ । पार्क संगै आर्कषक होम स्टे निर्माण गर्ने योजना रहेको मेयर वनले बताए । नेपालकै नमुना पार्क निर्माण गर्ने र होम स्टे सञ्चालन गरेर आदिवासी समुदायका आयआर्जन गर्ने योजना रहेको उनले बताए । निर्माणको क्रममा रहेका तीन ठुला योजना रत्ननगरको सम्पत्तीको रुपमा रहने मेयर वनले बताए । सडक,खानेपानी,शिक्षा,स्वास्थ्य निरन्तर चलिरहने विकासका प्रक्रियाहरु हुन मेयर वनले भने हामी नगरवासीहरुलाई विकासको प्रत्याभूति दिलाउन ठुला पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिरहेका छौं । रत्ननगर नगरपालिका भित्र बन्ने पूर्वाधारले स्थानीय समुदायको आयआर्जनमा टेवा पुग्ने गरी निर्माण गरिएको उपमेयर विमला दुवाडीले बताइन । ठुला योजनालाई नगरको आम्दानीको श्रोतसंगै स्थानीय समुदायको जीवनयापनलाई सहज बनाउने उनको भनाई छ । नगरपालिकाले चालु आर्थिक बर्षमै टिकौलीमा छाडा पशुको व्यवस्थापनको लागि गौशाला,टाँडीचोकका आकासे पुल,सौराहामा पर्यटकीय बसपार्क,सिटीहल,सुचना केन्द्र र भ्यू टावर निर्माण गर्ने योजनाका साथ केन्द्र,प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरिसकेका छन । सौराहाको पर्यटनलाई लक्षित गरी निर्माण गर्न लागिएको उक्त योजनाहरु अहिले सम्म निर्माण सुरु हुन सकेको छैन । चालु आर्थिक बर्षमा निर्माण सुरु हुन नसके बजेट फ्रिज हुने भएकाले अबको चार महिना भित्र उक्त योजनाको निर्माण कार्य सुरु गर्ने पर्ने दवावमा नगरपालिका परेको छ ।