दार्जिलिङमा बिनिताको ‘हिमफेदीका कथाहरू’ लोकार्पण

सञ्जय प्रधान, दार्जिलिङ

‘आफ्नैहरुले धोका दिएको इतिहास लेख्दा लेख्दै
रितिन्दै गइरहेका कलमहरु…’

गाडे घाउजस्तै भइरहेका समस्याहरूसित जुझ्दै आएको दार्जिलिङलाई हेरेर कहिले बिनिता छेत्री लेप्चा कवितामा गर्जिन्छिन् । उनको गर्जन देखावटीको रुपमा सचेत भएर कुदिरहेको अचेत समाजको चेत खुलाउने किसिमका छन्।

कविताबाट आफ्नो पहिचान बनाएकी बिनिता अब ‘हिमफेदीका कथाहरू’को सङ्गालो लिएर कथाकारको रूपमा नेपाली साहित्यको संसारमा आएकी छन्। भारतीय नेपाली साहित्यको क्षेत्रमा दार्जिलिङबाट नयाँ पुस्तका नारी कथाकारहरूमा  एकजना खरसाङ भेकको सिटोङ निवासी सन्ध्या आचार्य हुन्। अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रमहरू अहिले दार्जिलिङ जिल्लाका विभिन्न ठाउँहरूमा पालन गरिरहेको छ। यस्तै  नारी दिवसकै सप्ताहको छेकमा १० मार्चको दिन दार्जिलिङको साउथफिल्ड कलेज (पहिलाको लरेटो कलेज)को प्रेक्षागृहमा बिनिता क्षत्री लेप्चाको दोस्रो कृति ‘हिमफेदीका कथाहरू’ भव्य कार्यक्रमबीच लोकार्पण भयो।

कवि विनोद रसाइलीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका मुख्य अतिथि सुपरिचित साहित्यकार एम.पथिकलगायत अन्य विशिष्ट अतिथिहरूद्वारा ‘हिमफेदीका कथाहरू’ लोकार्पण गरियो।

कञ्चनजङ्घा हिमालको काखमा बसेको दार्जिलिङ हिमफेदीकै एउटा डाँडा हो। बिनिताको कथामा यसै हिमफेदीकै वरिपरिका राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक विषयहरू समेटिएका छन्। अहिलेको नयाँ पुस्तामा यस्ता किसिमका विषयहरूलाई समेटिनु भनेको नै नयाँ वैचारिक क्रान्ति हुन्। कथा, कविता, उपन्यास, निबन्ध यी सबै साहित्यका विधाहरू भनेको विचार र अवधारणाका मलिला बारीहरू हुन्। यस्तै बिनिताका कथा र कविताहरूमा घोत्लिनु हो समाजको मानसिकतालाई सकारात्मक रूपमा विकसित बनाउन सक्ने विषयहरू पाउन सकिन्छ। अफवाह र उडन्ते समाचारमा विश्वा्स गरेर कुदिहिड्ने समाजलाई उनका कथा सङ्ग्रहले ‘प्लाष्टिकको आँटा’ गजबै कथा पस्किएको छ। सन् २०१७ मा भएको उद्देश्यविहीन र असफल आन्दोलनको अनिश्चि तकालीन हडताललाई कथामा प्रस्तुत गरेकी छन्। ‘हिमफेदीका कथाहरू’ मा भूमिका नेपाली साहित्य अकादमी
युवा पुरस्कारद्वारा सम्मानित सुपरिचित युवा कथाकार सञ्जीव क्षत्रीले अनि ध्रुव चौहानले पुस्तकको अन्तिम पृष्ठमा लेखेका छन् भने प्रकाशक शामूएल लेप्चा रहेका छन्।

कार्यकममा ‘हिमफेदीका कथाहरू’ बारेमा बोल्दै कथाकार सन्ध्या आचार्य भन्छिन्, ‘बिनिताको कथाहरूको खुबी भनेको विषय वस्तुको छनौट हो। ‘हिमफेदीका कथाहरू’भित्र परेका हरेक कथाहरू आकर्षक र उद्देश्यमूलक रहेका छन्। कथाहरूमा हामीआफै पात्र पात्राहरू छौँ। कथामा राजनैतिक पृष्टभूमि, आर्थिक अवस्था र गतिविधिहरू, भौगोलिक
आकार जम्मै समेटिएका छन्। उनका कथाहरू पढेपछि लाग्छ उनी एक सचेत र सामाजिक कथाकार हुन्।’

उनी अझ  भन्छिन्, ‘बिनिताका कथाहरूमा मसिना मसिना हाम्रै वरिपरिका घटनाहरूलाई तानेर मेहनत गरेर खिप्ती गरीगरी विचार भरेर लेखिएका घटना र विचार दुवै भएकाले कथाहरू रोचक भएका छन्। हामी हिमफेदीकाहरू हौँ र हिमफेदीका कथाहरू हाम्रै कथाहरू हुन्।’

दार्जिलिङको सुके पोखरीमा जन्मिएकी र बिहेपछि वर्षदेखि दार्जिलिङको राजबाडीमा बस्दै आएकी बिनिताले यो कथा सङ्ग्रहभन्दा अघि सन् २०१६ मा ‘मनको साइनो’ कविता सङ्ग्रह नेपाली समाजलाई उपहार स्वरूप प्रदान गरिसकेकी छन्। कार्यक्रममा प्राध्यापक सदीप प्रधानले स्वागत भाषण राखेका थिए भने साहित्यकारद्वय सुरज धड्कन र नीरज थापाले भारतेली नेपाली कथाको क्रम तथा वर्तमान अवस्था र प्रवृत्तिमाथि सङ्क्षेपमा आआफ्नो मन्तव्य राखेका थिए। कवि कर्ण विरहले सञ्चालन गरेको कार्यक्रमा सञ्जोक खवास, आरती ठकुरी, महेन्द्र स्याङ्बो, ध्रुव चौहान र निरङ्कर थापाले कविता र कथा वाचन गरेका थिए ।