व्यावसायिक गल्फ खेल्ने पहिलो नेपाली महिला बन्दै प्रतिमा

काठमाडौं ।  नेपालकी लेडी गल्फर प्रतिमा शेर्पाले व्यावसायिक गल्फमा डेब्यू गर्ने भएका छिन्। उनले पहिलो व्यावसायिक प्रतियोगिताअन्तर्गत दुई सातापछि सेमेट्रा टुरमा सहभागिता जनाउन लागेकी हुन्। अमेरिकाको क्यालिफोर्नियामा आगामी मार्च २९ देखि ३१ सम्म हुने आइओए च्याम्पियनसिपमा १९ वर्षीया प्रतिमाले खेल्ने इएसपिएनले लेखेको छ। प्रतियोगितामा सहभागिता जनाएपछि उनी व्यवसायिक गल्फ खेल्ने पहिलो नेपाली महिला खेलाडी हुनेछिन् ।

‘गरिब परिवार, त्यो पनि नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय गल्फर बन्छु भनेर सोचेको पनि थिइन। तर आज म गल्फको कारणले अमेरिकामा छु,’ आयोजकले जारी गरेको विज्ञप्तिमा प्रतिमाले भनेकी छिन्,’पहिलो नेपालीको रुपमा प्रतियोगिता खेल्न पाउदा गर्व लागेको छ। मेरो लागि यो ठूलो अवसर हो। अझ मेरो देशका लागि पनि उपलब्धि हो।’

दुई वर्षअघि अमेरिका पुगेकी शेर्पाअहिले बार्बारा सिटी कलेजमा पढिरहेकी छिन्। उनी त्यहाँ गल्फको प्रशिक्षण लिन्छिन् । गत वर्ष प्रतिमाले स्टार गल्फर टाइगर उड्ससँग पनि भेटेर सँगै गल्फ खेलेकी थिइन्। रोयल नेपाल गल्फ क्लबको गार्डकी छोरी प्रतिमाले सानै उमेरमा नेपालमा हुने अधिकांस प्रतियोगिताको उपाधि जितिसकेकी छिन्। पछिल्लो समय उनी नेपालकी नम्बर वान लेडी गल्फरको रुपमा दरिएकी थिइन्।