सन्दीप लामिछाने भन्छन्- ‘स्पिनरलाई दोहोरो चुनौती छ’

काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेका लागि पाकिस्तान सुपर लिग (पिएसएल) को चौथो संस्करण उपलब्धिमूलक रह्यो। लाहोर क्वालन्डर्सका लागि ७ खेल खेलेका सन्दीप टिमका लागि सर्वाधिक विकेट लिने बलर बने। सन्दीपले ७ खेलमा १७.१८ को औषतमा बलिङ गर्ने क्रममा ११ विकेट लिए। लाहोरका लागि अर्का खेलाडी हरिस राउफले १० खेलमा ११ विकेट लिए पनि उनको औषत २४.२७ रह्यो। भलै सन्दीप आवद्ध लाहोर समूहको पुछारमा रहदा प्लेअफमा पुग्न असफल भयो।

लाहोरका लागि पछिल्ला सात खेल खेलर पनि टिमका लागि सर्वाधिक विकेट लिने बलर बनेका सन्दीपले सबकन्टिनेन्टमा स्पिन बलिङ गर्न धेरै नै चुनौती रहेको बताएका छन्। सन्दीपले पिएसएलमा टी–२० को करिअरैकै उत्कृष्ट बलिङ गरेका थिए। उनले क्वेटा क्लाडिएर्टसविरुद्ध दुबईमा भएको खेलमा ४ विकेट लिँदा १० रन मात्र खर्चिएका थिए। सन्दीपले घातक बलिङ गरे पछि क्वेटा १ सय ६ रनमै समेटिएको थियो। ‘टी–२० क्रिकेट खेल्नु सधैं चुनौतीपूर्ण हुन्छ। अझ सबकन्टिनेन्टमा स्पिन बलमा ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्ने गर्छन्। त्यसैले मेरो लागि दोहोरो चुनौती थियो,’ सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई भनेका छन्,’त्यसैले मैले राम्रो गर्न अझ धेरै सिक्नु छ।’

सन्दीप पिएसएलको अन्तिम २ खेल खेल्न पाकिस्तानको कराची पुगेका थिए। एक साता पाकिस्तानमा रहदा उनले जीवनकै ठूलो अनुभव प्राप्त भएको बताए। उनले एकदिन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट क्रिकेट खेल्न पाकिस्तान पुग्ने पनि विश्वास व्यक्त गरेका छन्। पाकिस्तानमा सन् २००९ पछि जम्मा १३ वटा मात्र खेल भएका छन्।

‘कराचीमा सुन्दर क्षण बिताए। अब फेरि पिएसल खेल्न वा नेपाली राष्ट्रिय टिमबाट खेल्न पाकिस्तान पुग्ने इच्छा छ। जीवनकै ठूलो अनुभव प्राप्त गरे,’ सन्दीपले भने,’नेपाल र पाकिस्तानबीच क्रिकेट खेलका लागि कुर्न सकिरहेको छैन। पाकिस्तानमा अझ धेरै खेल हुने पक्का छ। पाकिस्तानका फ्यानहरु एकदमै क्रेजी छन्। उनीहरुलाई क्रिकेट चाहिएको छ।’

सन्दीपले टी–२० लिगकै जस्तै प्रदर्शन अन्तर्राष्ट्रिय खेलमा पनि हुने विश्वास गरेका छन्। युवा भए पनि सन्दीपले अहिलेसम्म १५ एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिइसकेका छन्। यस्तै उनले टी–२० खेलमा प्रत्येक १८ बलमा एक विकेट लिने गरेका छन्। ‘नेपालले अझ ठूलो सफलता हात पार्ने विश्वास छ। नेपालले हात पार्ने त्यो सफलतामा योगदान दिन चाहान्छु। कडा मिहिनेत गरिरहेको छु। मिहिनेतको फल पाउछु जस्तो लाग्छ,’  उनले भने।