चितवनको राइनो तालमा काठे डुङ्गा सञ्चालन

चितवन १ चैत । नेपाल पर्यटन वर्ष सन् २०२० लाई लक्ष्य गरी रामबेल सामुदायिक वन भरतपुरले ‘राइनो ताल’ मा काठे डुङ्गा सञ्चालनमा ल्याएको छ । सामुदायिक वनले सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्षलाई सफल बनाउन प्रयोगविहीन रहेका पाँच वटा डुङ्गालाई मर्मत गरी पुन सञ्चालनमा ल्याएको हो । चितवनको भरतपुर महानगरपालिका–१२ मा अवस्थित सो तालमा पर्यटक भित्र्याउन डुङ्गा सञ्चालन सञ्चालनमा ल्याइएको वनका अध्यक्ष वेदबहादुर थापा बताए ।
डुङ्गालाई जस्तापाताले बाहिरबाट ढाकेर, रङ लगाएर र पुराना काठलाई परिवर्तन गरी मर्मत गरिएको छ । तालले जिल्लामा नै पहिलोपटक तालमा डुङ्गा सयर गराउने काम शुरु गरेको सामुदायिक वनको भनाइ छ ।
गत वर्ष तालमा पानी बढी भएर बाँध फुटेसँगै १४ वर्षदेखि सञ्चालनमा रहेका डुङ्गा प्रयोगविहीन भएका थिए । रामबेल सामुदायिक वनका अध्यक्ष थापाका अनुसार पर्यटकको संख्यालाई वृद्धि गर्न फुटेको बाँध र डुङ्गालाई मर्मत गरी डुङ्गालाई पुनः सञ्चालनमा ल्याइएको हो ।
तालमा गैँडा सहजै देख्न सकिने भएकाले तालको नाम ‘राइनो ताल’ राखिएको वनका अध्यक्ष थापाले बताउनुभयो । रासस