फागु/ होली पर्व र लोला : केही तिता मिठा सम्झनाहरू

शशी केसी ।  हुनत यो पर्व रंगहरू,अबिरहरू एक आपसमा लगाई दिएर खुशीसाथ मनाईने पर्व हो तर दुईचारवटा यस्ता घटनाहरू छन,जव जव यो पर्व आँउछ सम्झिहाल्छु।घटनाहरू आज भन्दा २२-२४बर्ष अगाडी,हाम्रो क्याम्पस पढदाको हो। मेरो घर( माइती) पुरानो बानेश्वर अनि क्याम्पस त्रिचन्द्र घण्टाघर, म बिहानी क्लासमा पढ्थें। बसहरू पनि थोरै अनि त्यो पनि सँधै जसो हुल हुने गर्थ्यो, ट्याक्सी तथा बिक्रम/ कालो ट्याम्पोमा चढेर दिनका दिन क्याम्पस जान सम्भव पनि हुने कुरा भएन,बरू हामी बेलैमा घरबाट हिंडेर क्याम्पस जाने गर्थ्यौं।

बिहान हिंडनुको मज्जा नै अर्को हुन्थ्यो त्योबेला,कहिलेकाहीं सँगै जाने सल्लाहनै गरेर र कहिले बाटोमा आफ्नै टोलको बिभिन्न क्याम्पसहरू : शंकरदेव, पद्मकन्या, ल क्याम्पस पढने साथीहरूसंग गफ गर्दै बानेश्वर, मैतीदेवी, डिल्लाबजार हुँदै कोही पुतली सडक र कोही बागबजारसम्म पुगेर छुट्टिदैं गइन्थ्यो।

हिंडेर बाटो कटेको पनि पत्तो नै हुँदैन थियो गफको शुरमा। अरूवेला त तेस्तै हो, जव होली आयो, तिनचार हप्ता पहिलेदेखि लोलाको मुख्य निशानीमा हामी पर्नेनै भइयो। लोला भनेको चाहीं स-सानो बेलुनमा पानी भरेर, घरको छत, कुनाकाप्चातिर छेकिएर केटीहरूलाई हान्ने। लोला हान्नेलाई त रमाइलो हुँदो हो, लाग्नेलाई थाहा हुन्छ कस्तो, एक त ठाँउबेठाँउमा लागेको लोलाको दुखाई, कपडामा पानी”त्यो पनि सफा हो कि फोहोर”लागेर भिज्नु ,अनि लाज लाग्ने त्यो उमेरमा,ओहो लोलाले लाग्दा बरीपरीका मान्छे गललल हाँस्दा,कस्तो दिक्कै लाग्ने!

ल अब कुरा गर्छु त्योबेला घटेका केही सम्झना लाग्ने घटनाहरूको

पहिलो घटना: एकदिन म क्लास सकिएर हिँडदै पद्मकन्या क्याम्पसनिर आइपुगेको थिएँ, क्लास सकेर त्यो क्याम्पसबाट पनि एकहुल केटीहरू मेरो अगाडी हिँडेर घरतिर जाँदै थिए, खै कतातिरबाट हो लोला आएर त्यो हुलको एकजना चस्मा लगाउने केटीको मुखमा लाग्यो। चस्मा फुटेर सिसाले काटेर अनुहारबाट रगत आउन थाल्यो। कुदाकुद गरेर ट्याक्सीमा हस्पिटल लगे उसका साथीहरूले, खै आँखालाई त केही भएनत होला?

दोस्रो घटना: समाचारमा आएको थियो,एउटा ९-१० बर्षको बच्चा लोला हान्ने क्रममा तिनतल्लाको छतबाट खसेर सिकिस्त घाइते!

तेस्रो घटना चाहीं आफैलाई घटेको, लोलाको डरले कति लेक्चर क्लास त साथीहरूसँग पछि नोट लिन्छु भनेर गइन पनि तर एउटा प्राक्टिकल क्लास थियो खै फाइनलमा नम्बर जोडिने हो की के कारणले हो छोड्नै नमिल्ने, त्यो क्लास सकेर छिटो छिटो लोलाबाट छल्लिदैं, पुरानो बानेश्वर हाइटबाट छोटोबाटो घर जाँदै थिँए। गल्लीनिरको पसलमा यस्तै ८-९ बर्षको स्कुलको लुगामा हातमा लोला लिएर फुच्चे केटो उभिरहेको रहेछ। एउटा त हानी हाल्यो,धन्न लागेन! खै आफ्नै टोल, जान मन नलागेर पनि क्याम्पस जानु परेको, अलि भोकपनि लागेको के भो मलाई कुन्नी त्योबेला,फरक्क फर्केर त्यो फुच्चेको हातमा भएको अर्को लोला तेसैको हातमै फुटाइदिँए। स्कुल जाने लुगा भिजेर रून थाल्यो, तेस्को आमा होलिन मलाई ठुलो आँखा पारेर हेरिन, के मतलव,बाटोमा हिँडनेलाई तेसै दुख दिने हो त !!!

यस्ता भोगाई त कति हो कति !!

अन्त्यमा आउँदै गरेको फागु/होली पर्वको शुभकामना

साथै हामीहरू धेरै जसो त आमा भइसक्यौं, आफ्ना ती भोगाई सम्झेर केटाकेटीलाई अरूलाई दुख र आपतमा नपारी आफु आफु मिलेर यो पर्व मनाउन सम्झाउँ!!