कयर खोलाबाट नदिजन्य पदार्थ निकासी खुल्ला

चितवन ०६ चैत्र । चितवनका स्थानीय तहले नै नदीजन्य पदार्थ उत्खन सुरु गरेका छन् । उत्खननका लागि अधिकार प्राप्त भएपछि यहाँका स्थानीय तहले ढुंगा, गिट्टी उत्खनन् सुरु गरेका हुन् । नदिजन्य पदार्थ उत्खननका लागि दुई पटक सम्म सूचना प्रकाशित भएपनि कुनै फर्मले ठेक्काका लागि आवेदन नहालेपछि स्थानीय तह आफैले निकासी सुरु गरेका हुन् ।
चितवनको रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले संयुक्त रुपमा कयर खोलामा ढुंगा, गिट्टी, बालुवा निकासी खुल्ला गरेको जनाएका छन् । कयर खोला यी दुई नगरपालिकाको सिमाना भएर बग्छ । आइतबारबाट निकासी खुल्ला गरिएको हो ।
नदिजन्य पदार्थ उत्खनन् बापत दुवै नगरपालिकाले साझेदारीमा राजस्व संकलन गर्ने गरी समझदारी भएको खैरहनीका मेयर लालमणी चौधरीले जानकारी दिए । जिल्ला अनुगमन समितिसँगको समन्वयमा उत्खनन्को काम सुरु गरिएको मेयर चौधरीले बताए । यसअघि साविक जिल्ला समन्वय समिति मार्फत नदिजन्य पदार्थ उत्खननका लागि ठेक्कापट्टा हुँदै आएको थियो । प्रति टिप ७ सय ५० रुपैया राजस्व लाग्नेछ ।
रु १ सय ५० रुपैया लोड गरेवापत एक्साभेटरलाई प्रदान गरिने छ । पहिलो चरणमा कयर खोला पुलबाट तल ३०० मिटर छाडेर उत्खनन् सुरु गरिएको छ ।