मनिखोला पार्कलाई पर्यटकीय गन्तव्य बनाउन जुटे दुई सांसद

रत्ननगर । प्रदेश सांसद कृष्णप्रसाद खनाल र कन्चन खनाल रत्ननगरमा रहेको मनिखोला पार्कलाई पर्यटकीय गन्तव्य बनाउन लागि परेका छन । प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाको सही सदुपयोग गरी आर्कषक पर्यटकीय गन्तव्य बनाउन सांसदद्धय लागि परेका हुन । रत्ननगर ११ मा रहेको पञ्चकन्या सामुदायिक वन क्षेत्रका सो पार्क रहेको छ । मनि खोलाको विकासका लागि दुई सांसदको पहलमा यहाँ ५० लाख रुपैया परेको हो । प्रदेश सांसद कृष्णप्रसाद खनालले सौराहामा आउने पर्यटकलाई जीप सफारी गराउने योजनाका साथ पूर्वाधार निर्माण गर्ने योजना रहेको बताए । जीप सफारीका लागि जंगलमा रुट बनाउन र पर्यटक लक्षित कफि पसल र साना होटल बनाउने तर्फ ध्यान केन्द्रित गर्न साँसद खनालले सामुदायिक वनलाई आग्रह गरे । मंगलवार प्रदेश सांसद कृष्णप्रसाद खनाल,कन्चन खनाल,पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डे,मेयर नारायण वनले सो पार्कको स्थलगत अबलोकन गरेका छन । कार्यक्रममा सांसद कन्चन खनालले बजेटको सही सदुपयोग गरी पर्यटन पूर्वाधार निर्माण गर्न वनका पदाधिकारीहरुलाई आग्रह गरिन । मेयर नारायण वनले मनिखोला पार्कलाई सौराहा पछिको दोश्रो गन्तव्य बनाउन सकिने बताए । प्रतिनिधि सभा साँसद पाण्डेले पहिलो चरणमा जीप सफारीका लागि वनका रुट बनाउन उपयुक्त हुने बताए । कार्यक्रममा रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले मनिखोला पार्कलाई लक्षित गरी पञ्चकन्या वनमा रात्री जीप सफारी सञ्चालन गर्न सुझाब दिए । सो पार्कमा अहिले वनभोज स्थल,४ वटा पोखरी,एउटा मिनी चिडिया घर रहेका छन ।