विद्यार्थीको मनोविज्ञान अनुसार पढाउँदै चितवन पर्साकाे ज्ञानसुधा स्कुल

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ८ चैनपुर चोकमा रहेको ज्ञानसुधा इङ्गलिस स्कुलले यसै शैक्षिक सत्रदेखि विद्यार्थीको मनोविज्ञान बुझेर पठनपाठन गराउने तयारी थालेको छ । हरेक विद्यार्थीको क्षमता र मनोविज्ञान फरक–फरक हुने भएकोले सो कुरा पत्ता लगाई उनीहरुलाई सोही अनुसार शिक्षा दिनु आजको आवश्यकता भएको विद्यालयका प्राचार्य राजकुमार दाहालले बताए ।
यसै शैक्षिक सत्रदेखि कक्षा २ देखि १० सम्मका सबै विद्यार्थीहरुको मनोविज्ञान बुझ्न र सोही अनुसार अध्यापन गराउन विद्यालयमा ज्ञानसुधा एजुकेशनल रिसर्च सेन्टर समेत संचालनमा ल्याइएको उनले बताए । हरेक विद्यार्थीको मनोविज्ञान पत्ता लगाउन उनीहरुको परीक्षा समेत लिइने छ । विद्यार्थीलाई ६० वटा प्रश्न मार्फत् उनीहरुको स्वभाव, बानी, व्यहोरा, रुचिहरु पत्ता लगाइने छ । सबै विद्यार्थीहरुको अलग–अलग फाइल तयार गरी विद्यार्थीको रुचिलाई ध्यानमा राखी कक्षामा समेत सोही अनुसार अध्ययन गराइने उनले बताए ।
विद्यार्थीका अतिरिक्त अभिभावकको पनि मनोभावना बुझेर पढाइ गरिने उनले बताए । यसबाट विद्यालयलाई आर्थिक भार पर्ने भएतापनि अभिभावकमा भने कुनैपनि शुल्क व्यहोर्नु नपर्ने उनको भनाइ थियो । विद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्राचार्य दाहालले सम्भवतः नेपालमा नै यसप्रकारको अध्ययन पहिलो हुने समेत बताए । विद्यार्थीहरुलाई पढाउनका लागि शिक्षकहरुलाई पनि सोही अनुसार तालिम दिन सुरु गरिएको समेत उनले बताए ।
सो कार्यक्रममा रिसर्च सेन्टरका को–अर्डिनेटर एवम् राष्ट्रिय प्रशिक्षक तारा प्रसाद अधिकारी, सेन्टरका डाइरेक्टर एवम् शिक्षाविद् डा. विनोद घिमिरे, चाइल्ड साइकोलोजिष्ट डा. नरेन्द्र ठगुन्नाले हरेक विद्यार्थीहरुलाई पढाउने मात्र नभई पढ्ने तरिकाको समेत ज्ञान दिन जरुरी रहेको बताए । सामाजिक, नैतिक, पारिवारिक ज्ञान पनि आजका विद्यार्थीहरुलाई अति आवश्यक रहेको भन्दै कुलत र कुसंस्कारबाट विद्यार्थीलाई जोगाउन पनि आजको चुनौती रहेको उनले बताए ।  विद्यार्थी र अभिभावकलाई बेलैमा सजग गराउन सके उनीहरु कुलतमा नलाग्ने भएकोले अभिभावक र विद्यार्थीलाई सचेत गराउने खालको कार्यक्रमहरु आवश्यक रहेको समेत उनले बताए ।
सोही सन्दर्भमा विद्यालयले २३ गते शनिबार पूर्वी चितवनको पर्सामा विद्यार्थी, शिक्षक र अभिभावकहरुका लागि एकदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको प्राचार्य दाहालले जानकारी दिए । सो कार्यक्रममा रिसर्च सेन्टरका को–अर्डिनेटर एवम् राष्ट्रिय प्रशिक्षक तारा प्रसाद अधिकारी, सेन्टरका डाइरेक्टर एवम् शिक्षाविद् डा. विनोद घिमिरे, चाइल्ड साइकोलोजिष्ट डा. नरेन्द्र ठगुन्नाले प्रशिक्षण दिने छन् ।