अन्तर्राष्ट्रिय भलिबलको उपाधिका लागि आज आर्मी र पुलिस भिडदै

 चितवन । नेपाल आर्मी र नेपाल पुलिस क्लब चितवनको रत्ननगरमा जारी अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज दिउसो ११ बजेे भिड्ने भएका छन् ।

बुधबार भएको सेमिफाइनलको खेल जितेपछि आर्मी र पुलिसले उपाधिका लागि भिडन्त गर्ने पक्का भएको हो ।

पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले भारतको रेलवे स्टेशन तालिमनाडु र आर्मीले बंगलादेशको टाईटस क्लबलाई पराजित गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब २५–१७,२५–१५,१७–२५,१९–२५ र १५–११ को सेटमा विजयी भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए ।

फाइनल स्थान सुरिक्षत गर्न पुलिसलाई अन्तिम सेट सम्म कुर्नुपरेको थियो । दोस्रो सेमिफाइनलमा आर्मी बंगलादेशमाथी हावी हुँदै सोझो सेटमै विजयी भयो । बंगलादेश विरुद्ध आर्मी २८–२६,२५–१९ र २७–२५ को सेटमा विजयी भएको हो ।

चितवन जिल्लाकै सर्वाधिक पुरस्कार राशीको उपाधिका लागि आर्मी र पुलिस बीचको फाइनल खेल बिहीबार बिहान ९ वजेपछि वैरिया माध्यमिक विद्यालयको परिसरमा हुनेछ ।

नेपाल पुलिस, नेपाल आर्मीसहित शशस्त्र प्रहरी बल (एपिएफ), प्रदेश नम्बर ३,बंगलादेशको टाईटस, भारतको रेलवे स्टेशन र आयोजक पञ्चरत्न युवा क्लब सहभागी प्रतियोगिता लिगका आधारमा खेलाइएको थियो ।

प्रतियोगिताको विजेताले ३ लाख ट्रफी र उपविजेताले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक घिमिरेले बताए । त्यस्तै विभिन्न ६ वटा विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रदेश नम्बर ३ का सांसद कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण समारोह हुनेछ ।