अन्तराष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिस क्लवलाई

चितवन  । नेपाल पुलिस क्लवले चितवनको रत्ननगरमा सम्पन्न प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको उपाधी बब्जा गरेको छ । प्रतिस्पधी त्रिभूवन आर्मी क्लवलाई पराजित गर्दै पुलिसले उपाधि कब्जा गरेको हो । उपाधी विजेता नेपाल पुलिसले ३ लाख रुपैया प्राप्त गर्दा उपविजेता नेपाल आर्मीले १ लाख ५० हजार रुपैयामा चित्त वुझायो ।

फाईनल प्रतिस्पर्धामा पहिलो सेट आर्मीले जितेपनि पछिल्ला तीन खेल पुलिसले आफ्नो पक्षमा पार्दै उपाधी आफ्नो पोल्टामा पारेको हो । पहिलो सेटमा १८–२५ ले पछाडी परेको पुलिस दोश्रो सेटमा २५–२३,तेश्रोमा २५–१८ र चौथोमा २५–११ को सेटमा विजयी भयो । चर्को घामको प्रवाह नगरी खेलाडीहरुलाई हौसल्ला प्रदान गर्ने दर्शकको वाक्लो उपस्थिती रहेको थियो । दोश्रो र तेश्रो सेट प्रतिस्पर्धात्मक भएपनि चौथो सेटमा पुलिस सामु आर्मी निरीह वन्न पुग्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लवका रविन चन्द घोषित हुँदा उत्कृष्ठ स्पाईकर नेपाल आर्मीका धनवहादुर भट्ट,उत्कृष्ट सेटर नेपाल पुलिसका यम राना मगर,उत्कृष्ट डिफेन्डरमा नेपाल पुलिसका भीम गाहा मगर,उत्कृष्ट व्लकरमा नेपाल आर्मीका हरि अधिकारी र उत्कृष्ट प्रशिक्षकमा नेपाल पुलिसका चन्द्र कुँवर घोषित भएका प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई प्रदेश साँसद कृष्ण प्रसाख खनाल,रत्ननगर नगरपालिकाका मेयर नारायण वन, आयोजक पञ्चरत्न युवा क्लवका अध्यक्ष उमेश केसीले पुरस्कार प्रदान गरे ।

पञ्चरत्न युवा क्लवको आयोजनामा यही चैत २४ गतेदेखी सुरु भएको प्रतियोगितामा पुलिस ,आर्मीसहित शशस्त्र प्रहरी वल (एपिएफ) भारतको रेलवे स्टेशन तामिलनाडु,वंगलादेशको टिटास क्लव,प्रदेश नम्वर ३ र आयोजक पञ्चरत्न युवा क्लवले सहभागीता जनाएका थिए । समापन कार्यक्रममा वडा नं १० का वडाध्यक्ष केशव आचार्य लगायतले मन्तव्य राखेका थिए ।