पूर्वी चितवनमा विकासको कायापटल गछौं : मन्त्री लामा

चितवन ३० चैत । प्रदेश नं ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जो लामाले अबको चार बर्ष भित्र पूर्वी चितवनमा विकासको कायापलट हुने बताए । । राप्ती नगरपालिका वडा नं ४ र ५ को सिमाना भएर बग्ने खहरे खोलमा निर्माण गर्न सुरु गरिएको पुलको शनिवार विहान शिलान्यास कार्यक्रममा वोल्दै कृषि सडक,पुल,सबै सडक कालोपत्रे,दाना उद्योग,पशुपालनमा उपकरण,कृषिमा आधुनिकीकरण गरेर चार बर्ष भित्र विकासमा कायापलट गर्ने बताए । उनले तीन तहका सरकारको बीचमा समन्वय हुँन नसक्दा विकास निर्माणको काममा असर परेको बताए । मन्त्री लामाले प्रतिनिधि सभा साँसद,प्रदेश सभा साँसद र मेयरको बीचमा समन्वय नभएका कारण एउटै योजनामा केन्द्र र प्रदेश सरकारबाट बजेट परेको बताए । कहि पैसा नभएर कामै नहुने अबस्था छ उनले भने कही दुई दुई ठाउँबाट बजेट परेको छ । समन्वय नभएका कारण प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डे र आफुले एउटै योजनामा बजेट परेको उल्लेख गरे । तीनै तहका सरकारको बीचमा समन्वय र सहकार्य हुन सकेन भने त्यसले विकासमा असर गर्छ उनले भने आखिर देश बनाउने हो,समन्वय गरेर काम गर्न जरुरी छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत उत्तराखण्डमा पर्ने सो खोलामा प्रदेश सरकारको तीन करोडको लगानीमा पुल निर्माण सुरु भएको शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यले जानकारी दिए । तीन महिनामा निर्माण कार्य सक्ने गरी ठेकेदारलाई निर्माणको जिम्मा दिइएको समाजसेवी समेत रहेको आचार्यले बताए । मन्त्री लामाले तोकिएको समयमै पुल निर्माण गरेर उदाहरणीय बन्न ठेकेदार कम्पनीका सञ्चालकलाई आग्रह गरे । वडा नं ५ की वडाध्यक्ष मेनुका पाठकको अध्यक्षता भएको कार्यक्रममा राप्ती नगरपालिकाका उपमेयर इमानसिं लामा,वडा नं ४ का वडाध्यक्ष शमशेर लामा लगायतले मन्तव्य राखेका थिए ।