सरकारले पूर्ण रुपमा औद्योगिक सुरक्षा प्रदान गर्ने : अर्थमन्त्री डा. खतिवडा

चितवन । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसाय गर्न चाहने व्यक्तिका लागि सरकारले पूर्ण रुपमा औद्योगिक सुरक्षा प्रदान गर्ने बताएका छन् । चितवनको भरतपुरमा आज आयोजित पूर्व बजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले सुरक्षाको सवालमा ढुक्क भएर उद्योगमा लगानी गर्न आग्रह गरेका छन् ।

खतिवडाले पछिल्लो समय उद्योग क्षेत्रमा बिध्वंसात्मक गतिविधि बढ्दै गएको प्रति दुख व्यक्त गर्दै आगामी दिनमा उद्योगको पूर्ण सुरक्षा हुने बताएका छन् । उद्योग सञ्चालन गर्न चाहने व्यवसायीका लागि सरकारले औद्योगिक सुरक्षा बलको मौका दिने उल्लेख गर्दै खतिवडाले त्यसमा अलिकति निजी क्षेत्रको लागत सहभागिता हुने बताए ।
प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का उद्यमीबीच भएकोे छलफलका क्रममा व्यवसायीहरुले नेपाली उद्योग र उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । नेपालमा नै उत्पादन हुने कृषिजन्य सामानहरु विदेशबाट आयात गर्दा सहुलीयत दिन नहुने व्यवसायीहरुको भनाइ थियो ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममाा  अर्थ मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, नेपाल उद्योग परिसंघ प्रदेश नं. ३ का संयोजक ऋषिराम घिमिरे, नेपाल उद्योग परिसंघ प्रदेश नं. ४ गण्डकी प्रदेश संयोजक विनोद न्यौपाने, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले उद्योगी व्यवसायीहरुका समस्या र त्यसका समाधानका विषयमा बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वस्तुगत समितिका अध्यक्ष एवं उद्योगीहरुले अर्थमन्त्री समक्ष पूर्व बजेटका बारेमा सुझाव पेश गरेका थिए । चितवन उद्योग संघका कार्यसमिति सदस्य युगराज वस्तीले प्रस्तुतिकरण गर्नुभएको पूर्व बजेट छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले सञ्चालन गर्नुभएको थियो ।