नेपाल अन्तरिक्ष युगमा प्रवेश– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनुभएको छ। नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि प्रधानमन्त्रीले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनु भएको हो ।  प्रधानमन्त्री ओलीले आफ्नो टुईटर पेजमा पोष्ट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ समेत दिनुभएको छ। यसबाट नेपालको प्रतिष्ठा बढेको प्रधानमन्त्री ओली बताउनुभयो ।

सानै आकारको भए पनि नेपाली भू–उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभर छरिएका नेपालीहरूले पनि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राखिरहेका छन् ।  पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो । भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन् । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २ बजेर ३५ मिनेटमा भर्जि्निया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । सानो आकारको यो स्याटेलाइटले तत्काल नमुनाको मात्रै काम गर्नेछ । अमेरिकाबाट प्रक्षेपण भइसकेपछि एक महिनासम्म ‘इन्टरनेसनल स्पेस’मा बस्नेछ । यसपछि बिस्तारै यसलाई नेपाली आकाशको माथि ल्याउने प्रयत्न हुनेछ ।

जसबाट नेपालको भूभाग, मौसमी अवस्था, भौगोलिक बनाउटबारे अध्ययन गर्न सहज हुनेछ । अहिले महंगो मूल्य तिरेर भारत, चीनलगायत तेस्रो देशको स्याटेलाइटबाट काम चलाइरहेको नेपालले यसपछि ‘मेगा स्याटेलाइट’ निर्माण सुरु गर्नेछ । यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू–उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के लगायत संलग्न थिए ।