नेकपामा मौलाउदै गुटहरु, पूर्व माओवादी पक्ष बलियो, नेकपाको ७७ जिल्लामा को कुन गुटमा हेर्नुहोस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ११ महिनापछि जिल्ला तहको एकता किनारा लगाएको छ ।  चारवटा कार्यदल र पटकपटकको छलफलपछि अन्ततः सोमबार बेलुका बसेको पार्टी सचिवालयको बैठकमार्फत् जिल्ला तहको एकता टुंगो लगाएको हो ।

केन्द्रमा ५५ र ४५ प्रतिशत भागवण्डाका आधारमा एकता टुंग्याएको नेकपाले जिल्ला तहमा ४३ र ५७ प्रतिशत भागवण्डाका आधारमा नेतृत्व बाँडफाँट गरेको हो । नेकपाले जिल्ला तहमा गरेको भागवण्डाअनुसार पूर्वएमालेले  ४४ जिल्ला लिएको छ भने पूर्वमाओवादी केन्द्रको भागमा ३३ जिल्लाको नेतृत्व परेको छ ।

मंगलबार सार्वजनिक गरिएको सूचीअनुसार जिल्लाको नेतृत्व बाँडफाँटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शक्तिशाली देखिएका छन् । नेकपामा अहिले चारवटा गुट सक्रिय छ । त्यसमध्ये संस्थापन पक्ष (पार्टी अध्यक्ष केपी ओली) कै गुट शक्तिशाली छ ।

तर, पूर्वमाओवादीमा भने प्रचण्डले जे भन्छन् त्यो पार्टी निर्णय हुँदै आएको छ । सोमबार बाँडफाँट टुंग्याइएको ७७ जिल्ला मध्ये २७ जना अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । र, प्रचण्ड पछि रामबहादुर थापा ‘बादल’को गुट शक्तिशाली देखिएको छ । गत पुसमा बसेको पार्टी स्थायी कमिटीको बैठकले एकता टुंग्याउन गठन गरेको कार्यदलका संयोजकसमेत रहेका बादल गुटले पाँचवटा जिल्ला अध्यक्ष पाएको छ । र, सोही हाराहारीमा जिल्ला सचिव छानिएका छन् ।

प्रदेश १ को ताप्लेजुङका विजय बस्नेत, सुनसरीका योगेन्द्र मण्डल, खोटाङका देवान चामलिङ, ओखलढुंगाका मोहनबहादुर खड्का, उदयपुरका विनोद कटुवाल प्रचण्ड निकट मानिन्छन् । प्रदेश २ मा सप्तरीका अशोक मण्डल, सिरहाका रामकुमार यादव, बाराका छत्रबहादुर श्रेष्ठ पनि प्रचण्ड निकट कै अध्यक्ष हुन् । महोत्तरीका जिल्ला अध्यक्ष राजु खड्का भने नारायणकाजी श्रेष्ठ नजिक छन् ।

३ नम्बर प्रदेशमा पनि प्रचण्ड निकट ३ जना नेता जिल्ला अध्यक्ष चुनिएका छन् । चितवनका यमबहादुर परियार, नुवाकोटका हिरानाथ खतिवडा, सिन्धुलीका राजन दाहाल प्रचण्ड पक्ष जिल्ला अध्यक्ष हुन् । प्रदेश ३ मै रामेछाप र काभ्रेपलाञ्चोकमा भने रामबहादुर थापा निकटले नेतृत्व पाएका छन् र रामेछापमा मदनकुमार तामाङ र काभ्रेमा रुकु चौलागाइँ अध्यक्ष नियुक्त भएका छन् ।

गण्डकी प्रदेशको लम्जुङका मधु अधिकारी, गोरखाका लेखबहादुर थापा, म्याग्दीका गोविन्द पौडेल र स्याङ्जाका सूर्यप्रसाद गैरे प्रचण्ड निकट जिल्ला अध्यक्ष हुन् । प्रदेश ५ मा पनि प्रचण्डनिकट पाँच जना नेता जिल्ला अध्यक्ष चुनिएका छन । रोल्पाका सुरेन्द्र घर्ती, रुकुम पूर्वका मेघबहादुर श्रेष्ठ, नवलपरासी पश्चिमका भविश्वर तिवारी, बर्दियाका भवनकुमार थारू प्रचण्डका पक्षमा खुलेका नेता हुन् । बाँकेका जिल्ला अध्यक्ष आईपी खरेल भने बादल समूहका हुन् ।

कर्णाली प्रदेशमा पनि प्रचण्डले चारवटा जिल्ला अध्यक्ष पाएका छन् । पश्चिम रुकुमका गोपाल शर्मा, जुम्लाका वीरबहादुर कुँवर, हुम्लाका लालकेश जैसी र मुगुका सुरवीर बुढा पनि प्रचण्ड निकट मानिन्छन् । कर्णालीकै जाजरकोटमा ढकवीर राना र कालिकोटमा धनजीत शाही बादल समूह निकट अध्यक्ष बनेका छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि प्रचण्डले ओलीलाई उछिनेका छन् । दार्चुलामा गणेशसिंह खत्री, डडेल्धुरामा मानसिंह माल, बझाङमा मीनबहादुर कुँवर, कञ्चनपुरमा वीरबहादुर थापा प्रचण्ड निकट जिल्ला अध्यक्ष बनेका हुन् । पटकपटक मापदण्डको कुरा उठाउँदै आएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पछिल्लो विधिले पनि न्याय गर्न सकेन । ७७ जिल्लामध्ये नेपाल समूहले १४ जिल्ला, वामदेव र झलनाथ खनालले १–१ जिल्लामात्र पाएका छन् ।

सर्लाहीका रेवती पन्त खनाल निकट र प्युठानका तुलसीराम शर्मा गौतम निकट मानिन्छन् । प्रदेश १ तर्फ इलामका जिल्ला अध्यक्ष राम राना, धनकुटाका राजेन्द्र राई तेह्रथुमका लक्ष्मण तिवारी, संखुवासभाका हेमराज घिमिरे, प्रदेश २ तर्फ रौतहटका कमल यादव, पर्साका प्रभु हजारा, प्रदेश ३ तर्फ मकवानपुरकी मनु सिग्देल, सिन्धुपाल्चोकका झम्क नेपालमात्रै नेपाल पक्षका हुन् ।

गण्डकी प्रदेशमा बाग्लुङमा इन्द्रलाल सापकोटा, प्रदेश ५ मा दाङका जिल्ला अध्यक्ष टीका राम खड्का, कर्णाली प्रदेशमा सुर्खेत जिल्ला अध्यक्ष ध्रुव शाही, डोल्पाका जिल्ला अध्यक्ष दत्तबहादुर रोकाया, सुदूरपश्चिम प्रदेशतर्फ  अछामका शेरबहादुर कुँवर र कैलालीका रतन थापामात्रै नेपाल पक्षका हुन् । www.12khari.com बाट साभार

nekapa_smikaran