मेरो आमा फाउण्डेशनले मुसहरका छोराछोरी पढाउने,शिक्षा पछि आवास निर्माण गर्ने

चितवन । मेरो आमा फाउण्डेशनले चितवनका मुसहर समुदायका छोराछोरीलाई शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १० कठारमा रहेको मुसहर बस्तीका वालवालिकालाई फाउण्डेशनले शिक्षाका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको हो । कठार माविका अध्ययन गर्ने मुसहर समुदायका ३१ जना वालवालिकालाई कक्षा १२ सम्म पढाउने जिल्ला लिइएको फाउण्डेशनका सञ्चालक नविन नेपालले जानकारी दिए । फाउण्डेशनले शिशु देखि कक्षा ८ सम्म अध्ययन गर्ने वालवालिकाको शिक्षाका लागि सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ । सीमान्तकृत मुसहर समुदायका वालवालिकालाई पढाउने घोषणा सहित सो संस्थाले विद्यालयसंग लिखित सम्झौता समेत गरेको छ । विहीवार विद्यालयसंग सम्झौतासंगै वालवालिकालाई आवश्यक रहेको शैक्षिक सामाग्री र स्टेशनरी हस्तान्तरण गरिएको छ । फाउण्डेशनले वालवालिकालाई किताव,कापी,कलम,पोसाक,जुत्ता,मोजा,टाई,बेल्ड,झोला वितरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा फाउण्डेशनका सञ्चालकहरु नेपाल र अष्ट्रिया निवासी दिनिजले वालवालिकालाई सो सामाग्री हस्तान्तरण गरेका थिए । सम्झौता पत्रमा फाउण्डेशनका सञ्चालकहरु नेपाल र अष्ट्रिया निवासी दिनिज र विद्यालय विद्यालयका प्रधानाध्यापक कृष्ण घिमिरे हस्ताक्षर गरेका थिए । फाउण्डेशनले वालवालिकाको सरसफाईको लागि मञ्जन,ब्रस र साबुन समेत प्रदान गरेको छ । कार्यक्रममा वडाध्यक्ष कारिराम चौधरी र विद्यालयका प्रधानाध्यापक कृष्ण घिमिरेको समेत सहभागिता रहेको थियो । वडा अध्यक्ष कारिराम चौधरीले मुसहर वालवालिकाको लागि फाउण्डेशने गरेको सहयोग नमुना भएको बताए । फाउण्डेशनका सञ्चालक नेपालले पहिलो चरणमा मुसहर समुदायका वालवालिकाको शिक्षाका लागि सहयोग गर्ने र निकट भविश्यमै यो समुदायको आवास निर्माण सुरु गर्ने योजना रहेको बताए ।