चन्द्रागिरि नगरपालिकाका लेखा अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरि नगरपालिकाका तत्कालीन लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

बलम्बुस्थित नगरपालिकाको कार्यालयमा कार्यरत उनलाई सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने समयमा सेवाग्राहीसँग घुस रकम २० हजार रुपैयाँसहित २०७६ वैशाख २ गते आयोग टोलीले रंगेहात पक्राउ गरेको थियो।

आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उदफा १ अनुसार कसुर गरेको भनेको छ। यो दफामा राष्ट्रसेवक कर्मचारीलाई भ्रष्टाचार गरेमा कारवाही गर्ने भन्ने व्यवस्था गर्छ । दफाअनुसार २५ हजार रुपैयाँसम्म घुस लिनेलाई बिगोबमोजिमको जरिवानासहित ३ महिना कैद हुने भन्ने व्यवस्था गरेको छ।

लेखा अधिकृत भट्टराईको हकमा २० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को अनुसार सजाय माग दाबीसहित अभियोग पत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रवक्ता प्रदीपककुमार कोइरालाले जनाए।

आइतबार बुझाइएको आरोप पत्रमा अख्तियारले भट्टराईलाइ ३ महिना जेल सजाय पनि हुनुपर्ने माग गरेको छ।