खुल्दैछ चीनसँगको व्यापारिक बाटो, तातोपानी नाकामा सुख्खा बन्दरगाहको काम अन्तिम चरणमा

काठमाडौं । नेपाल र चीनको एक मात्र सहज नाका तातोपानी बजार निकै नै चहलपहल हुन्थ्यो । ब्यापारसँगै स्वच्छ बातावरण र तातोपानीमा नुहाउन जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि घुइँचो लाग्थ्यो । नाकामा ब्यापार ब्यवसाय गरेर धेरैको चुल्होमा आगो बल्थ्यो ।

आनन्द जीवन बिताइरहेका उनीहरुमाथि एकदिन दैव आइलाग्यो । एक्कासी जमीन हल्लिन थाल्यो । घरहरु भत्किन थाले । एकैछिनमा बजार तहस नहस भयो । त्यो थियो २०७२ सालको विनासकारी भूकम्प । आँखा झिमिक्क गर्न नपाउँदै भूकम्पले उनीहरुका सबै सपना चकनाचुर भए । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि नेपाल र चीन जोड्ने एक मात्र सहज नाका तातोपानी बन्द भयो । त्यस क्षेत्रमा ब्यापार गरेर गुजारा चलाउँदै आएका हजारौं मानिसहरु विस्थापित भए ।

भूकम्पपछि लगातार आइरहेको भूकम्पको पराकम्पनले गर्दा त्यहाँ कोही मानिस पनि फर्किएर गएनन् । झण्डै १ वर्षपछि मानिसहरु पुनः बसोवास गर्न थाले । विस्तारै चहलपहल पनि बढ्न थालेको थियो । मानिसहरु भूकम्पको घाउ बिर्सनै लागेका थिए । तर २०७३ साल असार २१ गते राति आएको भोटेकोशी बाढीले उनीहरुको निको हुनै लागेको घाउमा झन् नुन छक्र्यो । बाढीले सडक, भौतिक संरचना तहसनहस बनाउँदा नाका सञ्चालनमा थप ढिलाइ हुन पुग्यो ।

भूकम्पको घाउ बिर्सिसकेका उनीहरु पुनः एक पटक घरबार छोडेर बसाई सर्न पुगे । जसले त्यो क्षेत्रमा व्यापार ब्यवसाय गर्ने मात्रै नभएर नेपालको ब्यापारिक क्षेत्रमै ठूलो असर पुग्यो । त्यसयता नेपाल र चीनको यो नाका सञ्चालनमा आएको छैन । नाका संचालनमा ल्याउने भनिए पनि भूकम्प पछि गएका बाढी पहिरोले बाह्रबिसेबाट तातोपानीसम्मकै सडकखण्डसँगै भौतिक संरचनासमेत तहसनहस बनायो । सडकसँगै भौतिक संरचनासमेत ध्वस्त भएपछि नाका खुलाउनेबारे दुवै पक्षमा अन्योलता सिर्जना भएको थियो ।

तर रातपछि दिन आउँछ भनेझै पुनः त्यहाँका स्थानियको लागि आशाको त्यान्द्रो पलाएको छ । ४ वर्षपछि तिब्बतको खासा बजार जोड्ने तातोपानी नाका खुल्ने तयारीमा छ । त्यसक्षेत्रबाट वर्षौंदेखि हुने गरेको हिमालय सीमापार व्यापार व्यवसाय फेरि सुरु हुने तयारीमा छ । यो नाका खुलेसँगै धेरैको घरको चुल्होमा आगो बल्नेछ । सरकारले जेठ १७ गतेबाट नाका संचालनमा ल्याउने तयारी गरेको छ । उक्त नाकामा रहेको मितेरी पुलको मर्मतमा काम गरिरहेका एक चीनियाँ कर्मचारीका अनुसार चीन तर्फको ९७ प्रतिशत काम पूरा भइसकेको छ ।

नेपालतर्फको अधिकांश काम सम्पन्न:

सरकारले नाका खोल्ने भनिएको मिति नजिकिँदै जाँदा नेपालको केही काम भने बाँकी नै छ । बाह्रबिसेबाट तातोपानी सम्मको २५.२ किलोमिटर सडक निर्माण कार्य अझै सम्पन्न भएको छैन । केही ठाउँमा कालोपत्रे गरिए पनि अधिकांश बाटो कालोपत्रे भइसकेको छैन । उक्त बाटो अहिले चिनियाँ पक्षले धमाधम कालोपत्रे गरिरहेको छ । नाका खुल्ने मिति नजिकिँदै जाँदा उक्त सडकमा २४ सै घण्टा काम सुरु गरिएको छ । पहिरो गएको भित्ताहरुमा पर्खाल लगाउने काम सबै सकिसकेकाले अब पिच गर्ने आधा काम मात्रै बाँकी छ ।

सुख्खा बन्दरगाहको आकर्षक निर्माण:

लार्चामा पक्की पुल छ हेर्दा निकै आकर्षक देखिन्छ । पुलबाट अगाडी आँखा डुलाउँदै जाँदा ठूलो भू–भागमा झन आकर्ष भवन देखिन्छ, त्यो हो सुख्खा बन्दरगाह । चिनियाँ पक्षले अहिले तातोपानी स्थित लार्चामा रहेको सुक्खा बन्दरगाह निर्माणको ९९ प्रतिशत काम सम्पन्न गरिसकेको छ । सुख्खा बन्दरगाहमा अहिले रङ्ग लगाउने काम चलिरहेको छ । सुख्खा बन्दरगाह २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त पारेपछि अहिले आकर्षक रुपमा यसको निर्माण गरिएको छ । उक्त बन्दरगाहमा आकर्षक बगैंचा, पानीको फोहोरालगायत ठूलोे पार्किङ एरियाकासाथै बैंक, कृषिलगायतका कार्यालयहरु पनि निर्माण गरिएका छन् । अहिलेसम्म नेपालमा पाँच बन्दरगाह निर्माण भएका छन् । जसमध्ये चारवटा नेपाल भारतको नाकामा छन् ।

नाकामा चहलपहल सुरु:

भूकम्पपछि सुनसान भएको तातोपानी नाकामा नाका खुल्ने खबरसँगै चहलपहल बढेको छ । जेठ १७ गते नाका खुल्ने भएपछि तातोपानीबाट बसाइसरेका मानिसहरु फर्किएका छन् । तातोपानी बजारमा विस्तारै मानिसहरुको भिड लाग्न थालेको छ । नाका नजिकैको तातोपानी बजारका लगभग सबैजसो घर भाडामा लागिसकेका छन् । नाका खुल्ने खबरसँगै ब्यापार गर्ने उद्देश्यले धेरैजसो मानिसहरु तातोपानी पुगिसकेका छन् ।

नाका खुल्ने खबरले धेरै समय बन्द रहेका होटेलहरु पनि सञ्चालनमा आएको होटल ब्यवसायि पद्नमाया श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘भूकम्पपछि म आफै पनि होटल छोडेर काठमाडौं गएकी थिए । यहाँ केहि पनि चहल पहल थिएन । अहिले नाका खुल्ने भएपछि सबै मानिस फर्किएर आएका छन् ।’