शक्तिखोर औद्योगिक क्षेत्र, (ईआईए) को सार्वजनिक सुनुवाई

चितवन । शक्तिखोर औद्योगिक क्षेत्र चितवन वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालालु काठमाण्डौंको आयोजना एवं इकोकोड÷डिजिकोन जे.भी. ज्वागल, ललितपुर परामर्शदाता रही सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहनुभएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य राख्नुभएको सार्वजनिक सुनवाई कार्यक्रममा कालीका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौला, नेकपा प्रदेश नं. ३ का सदस्य रामध्वज डल्लाकोटी (विवेक), कालीका नगरपालिका वडा नं. १ का अध्यक्ष लिलाबहादुर गुरुङ, वडा नं. ३ का अध्यक्ष टिकाराम रिजाल, वडा नं. ६ का अध्यक्ष विनोद रेग्मी, वडा नं. ७ का अध्यक्ष डिल्लीराम दवाडी, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा लगायतले शक्तिखोरमा औद्योगिक क्षेत्रको डिपिआर सकिएसँगै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को कार्य अगाडि बढाइएकोमा प्रशंसा गर्नुभयो । अधिकांश वक्ताहरु औद्योगिक क्षेत्रको प्रक्रिया अगाडि बढाईरहँदा स्थानीय सरोकारवाला निकाय, स्थानीय जनताहरुबाट आएका समस्याहरुको न्युनिकरण गर्न सकिने तरिकाले काम अगाडि बढाउन समेत आग्रह गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा चितवन उद्योगका पदाधिकारी, कार्यसमिति सदस्य, चितवन उद्योग संघ कालीका इकाई कमिटी, उर्जा मन्त्रालय, उद्योग मन्त्रालय, वन मन्त्रालयका जिम्मेवारी प्रतिनिधिहरु, स्थानीय सामुदायिक वन उपभोक्ता समूह, खानेपानी समूहलगायतका सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा आएका सुझावहरुलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रबन्धक सुवास सिटौलाले पालैपालो जवाफ दिनुभएको थियो ।