प्रेसलाई नियन्त्रण नभई नियमन मात्र गराउने – सञ्चार मन्त्री बास्कोटा

चितवन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले आज एफटिटिएच (फाइबर टु दि होम) सेवाको समुद्घाटन गर्नु भएको छ । चितवनको सौराहामा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले सो सेवा उद्घाटन गर्दै प्रविधिको विकासमा नेपाल अगाडि बढेको बताउनु भयो । साथै उहाँले मिडियामा बिदेशी लगानी सरकारलाई मान्य नहुने बताउनु भयो ।
मन्त्री बास्कोटाले चितवन कै रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन लाई टेलिफोन गरी सो सेवा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले नेपालको अर्थतन्त्रको एउटा मेरुदण्ड डिजिटल नेपाल रहेको भन्दै सञ्चार क्षेत्रले देशको अर्थतन्त्रमा ८ अर्बको योगदान गर्न सक्ने बताउन भयो । कार्यक्रममा मन्त्री बास्कोटाले स्वतन्त्र प्रेस नरहे लोकतन्त्र नरहने भन्दै प्रेसलाई नियन्त्रण गर्न नभई नियमन मात्र गराउने पक्षमा आफू र सरकार रहेको बताउनु भयो । समानुपातिक विज्ञापन प्रणाली र न्यूनतम पारिश्रमिक लागु गराउन सरकार प्रतिवद्ध भएर लाग्ने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी, प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय बीरगञ्जका निर्देशक अमलेन्दु नारायण सिंह, नेपाल टेलिकम भरतपुर शाखा प्रमुख दिपक कुमार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।