सेवा अहिले नेपाल उत्कृष्ट संस्था- गाउँपालिका अध्यक्ष

 

चितवन । चितवन जिल्लामा रहेको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले एक कार्यक्रममा आज सेवा अहिले नेपाल संस्थालाई अति उत्कृष्ट संस्था भएको वताउनु भएको छ ।

संस्थाले विगतदेखि नै आम सर्वसाधारण जनताको पक्षमा प्रत्यक्ष लाभ पुग्ने गरी काम गरेको भन्दै उहाँले संस्थाका कामहरूको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । संस्थाले यसअघिजस्तै गरी विगत ६ महिनादेखि इच्छाकामना गाउँपालिका वार्ड नं. ७, पिपलटारमा संचालन गरेको नि:शुल्क सिलाइकटाइ तालिमको दीक्षान्त कार्यक्रमको अवसरमा गाउँपालिका प्रमुख गुरुङले संस्थालाई आफ्नो गाउँपालिकाभित्र अझै धेरै कार्यक्रमहरू गर्नका निम्ति अनुरोध गर्नुभयो ।

दीक्षान्त समारोहको अवसरमा गाउँपालिका अध्यक्षका साथसाथै वार्ड सदस्यहरू, स्थानीय विद्यालयका प्रधानाध्यापक, विभिन्न युवा तथा महिला समूह अध्यक्षहरू, टोल विकास समितिका अध्यक्षहरू, विभिन्न सामुदायिक बन उपभोक्ता समितिका अध्यक्षहरू तथा अन्य सामाजिक अभियन्ताहरूको  उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा उपस्थित सबैले संस्थाद्वारा संचालित कार्यक्रमहरूले स्थानीय जनताका आर्थिक तथा सामाजिक स्तरोन्नतिका निम्ति महत्वपूर्ण भूमिका खेलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

नि:शुल्क सिलाइ कटाइ तालिमका साथसाथै संस्थाले देशका विभिन्न भागहरूमा नि:शुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रमहरू,  झूल वितरण, जाडोको ज्याकेट, टोपी र ट्राउजर वितरण, सिरक वितरण, शैक्षिक सामग्री वितरण तथा सुकुम्बासी बस्तीमा नि:शुल्क शिक्षा कार्यक्रम आदिद्वारा वर्षेनी  मानिसहरूलाई लाभ पुर्याउँदै आएको छ ।

सेवा अहिले नेपालले विगत ५ वर्षदेखि विशेषगरी बालबालिकाहरूको शिक्षा, महिलाहरूको सीप विकास तथा आपतकालिन अवस्थामा उद्धार तथा राहतको क्षेत्रमा काम गर्दै आएको संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालले बताउनुभयो । इच्छाकामना – ७ मा २४ जना दीक्षित भएपछि संस्थाको नि:शुल्क सिलाइकटाइ तालिमबाट हालसम्म दीक्षित भएकाहरूको संख्या २१८ पुगेको, र सबै दिक्षितहरूलाई संस्थाले एक एक वटा सिलाइ मेसिन प्रदान गरेको निर्देशक ढकालले बताउनुभयो । उहाँका अनुसार दीक्षितहरूमध्ये अधिकांश कुनै न कुनै प्रकारको सिलाइ व्यवसाय गरी आर्थिक उपार्जनमा लागेर परिवारलाई सहायता गरिरहेका छन् ।