गोन्द्राङ ढाट प्रकरणः दोषीलाई कारबाही गर्न सर्वदलीय सहमति

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा शुक्रबार भएको घटनाका दोषीलाई पहिचान गरी कारबाही गर्ने सर्वदलीय सहमति भएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले राजनीतिक आधारमा कसैलाई पनि संरक्षण नगर्ने गरी कारबाही गर्न सहमति जनाएको हो । प्रदेश सांसद कृष्ण खनालकै उपस्थितिमा भएको घटनामा आगोले जलेर ड्यूटीमा खटिएकी महिला प्रहरी कल्पना खड्का घाइते भएकी थिइन् । उनको हाल चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

सत्तारुढ दलकै नेताको उपस्थिति देखिएकोले घटनामा संलग्न जो कोही भएपनि कारबाही गर्न सहमति भएको हो । बैठकमा सहभागी नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भने, –“घटनाको भिडियोको आधारमा संलग्नमाथि निष्पक्ष छानविन गर्न सहमति भएको छ, राजनीतिक आधारमा दोषीलाई संरक्षण नगर्न सबै दल सहमत भएका छौँ ।” नेता श्रेष्ठले अपराधिक मनोवृत्तिले घटना भएकोले जो सुकै भएपनि कानुनी कारबाही गरिनुपर्ने बताए । उनले ढाटको दीर्घकालिन समस्या समाधानका लािग गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत भएको जानकारी दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सर्वपक्षीय छलफलमा पाँच बुँदे निर्णय गरिएको जानकारी दिए । गोन्द्राङमा रहेको ढाटलाई राप्ती नगरपालिका वडा नं.४ डडुवामा सार्न सिफारिस, प्रहरी कर्मचारीमाथि भएको आक्रमणमा संलग्नको वास्तविक पहिचान गरी कानुनी कारबाही गर्ने, घाइतेको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालको सम्पूर्ण खर्च घटनामा संलग्नहरुले व्यहोर्ने, विभिन्न बहानामा हुने गरेका अराजक गतिविधि अन्त्य गर्न सबै पक्ष लागि पर्ने प्रतिबद्धता जाहेर गरिएको प्रजिअ बस्नेतले बताए ।

बैठकमा प्रजिअ बस्नेतले घटनाले प्रहरीको मनोबल गिर्ने र शान्ति सुरक्षा प्रवाहमा समस्या आउन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने बताएका थिए । बैठकमा चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सांसदकै उपस्थितिमा जघन्य अपराध भएको भन्दै यस्ता गतिविधि सैह्य नहुने बताए । उनले घटनामा संलग्नको पहिचान भइसकेको भन्दै केहीलाई पक्राउ गरिएको समेत जानकारी गराए ।

बैठकमा सांसद घनश्याम दाहाल, गीता वाग्ले, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, नेकपाका नेता तेजेन्द्रबहादुर खड्का, समाजवादी पार्टी, राजपाका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

 रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष रेग्मी फरार, आगजनीको अभियोगमा थप दुई पक्राउ

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका वडा नम्बर ९ का कुलप्रसाद लामिछाने र राप्ती नगरपालिका वडा नम्बर ८ का खिलप्रसाद घिमिरे आइतबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछाने र घिमिरेलाई पक्राउ गरिएको हो । भिडियोमा पहिचान खुलेका अन्य आरोपीहरुको खोजी भइरहेको राठौरले बताए । सो घटनामा ३० जना संलग्न भएको देखिएको प्रहरीले जनाएको छ ।

राठौरले ती तस्बीर भिडाएर नाम पहिचान गरी दोषीलाई नियन्त्रणमा लिइने जानकारी दिए । घटना भएकै दिन प्रहरीले सौराहास्थित रेष्टुरेन्ट एण्ड बार एशोशिएसनका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको थियो ।

संकलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीले गिरीसहित उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनालगायत बिरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो ।  संघका अध्यक्ष रेग्मी प्रहरीले पक्राउ गर्ने भएपछी फरार रहेकाा छन । सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब चार लाख रुपैयाँ समेत लुटिएकाले उजुरी गरेको बताए । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी छिन् ।

खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । केन्द्र हटाउनुपर्ने माग गर्दै आएका पूर्वी चितवनका सर्वसाधारणले पेट्रोल छर्केर दस्तुर सङ्कलन केन्द्रमा आगजनीको प्रयास गरेका थिए ।