गोन्द्राङ ढाट प्रकरणः पक्राउ परेका उवासंघ रत्ननगरका अध्यक्ष रेग्मी धरौटीमा रिहा

चितवन ।  उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा भएका छन। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनी जिल्ला प्रशासन कार्यालय चितवनमा रु ५४ हजार धरौटी जम्मा गरी रिहा भएका हुन । यसअघि पक्राउ परेका तीन जनाले पनि सोही रकम बराबर धरौटी जम्मा गरी रिहा भएका थिए ।

सो घटनामा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष गोकर्ण गिरी पक्राउ परी धरौटी राखेर रिहा भएका थिए । घटनाका समयमा लिइएको भिडियोका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो । सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्सट्रक्सन प्रालिले रेग्मीसहित उनीहरुविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो । सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब रु चार लाखसमेत लुटिएकाले उजुरी गरेका थिए । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी छिन। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।