प्रेस यूनियन चितवनले रजत बर्षमा बार्षिक कार्यक्रम गर्ने

 चितवन । नेपाल  प्रेस युनियन चितवन शाखाले यूनियनको रजतबर्षको अवसरमा प्रेस युनियन  बार्षिक कार्यक्रमको घोषणा गरेको छ । रजत बर्षलाई भव्य रुपमा सफल पार्न बर्ष भरिनै रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइने भएको छ । आज भरतपुरमा युनियनले पत्रकार सम्मलेन गरी यस बिषयमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललले रजतबर्षलाई भव्यरुपमा मनाउन विभिन्न रचनात्मक, सिर्जनात्मक एवं जनचेतनामुलक कार्यक्रमको तय गरिएको बताए । जसअनुसार प्रत्येक महिनामा कम्तिमा एउटा कार्यक्रम नछुट्नेगरी १४ वटा कार्यक्रमको घोषणा गरिएको छ । उनका अनुसार रजतजयन्तको दिन जेठ १३ गते पहिलो कार्यक्रम अन्र्तगत वाकाथुन कार्यक्रमबाट रजतबर्षको शुभारम्भ गरिनेछ ।
उक्त दिन जिल्लाका पत्रकार, स्थानीयजनप्रतिनिधि एवं सरकारी निकायका कर्मचारी, एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने अध्यक्ष ढकालले जानकारी दिए । कार्यक्रमको कार्यतालिका अनुसार विहान ६ बजे चौविसकोठीबाट हिडौ, स्वस्थ बनौ सन्देश लेखिएको टिसर्टमा प्रेस युनियनको रजतबर्षको लोगो अंकित रहनेछ । सबै सहभागीले उक्त टिसर्ट लगाएर पुलचोकसम्म वाकाथुन गर्नेछन । स्वस्थ जीवनको लागि हिड्नु अत्यन्त लाभदायक हुने भन्दै जनचेतना अभिवृद्धि र स्वास्थ्य सम्बन्धी सन्देश दिने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।
यस्तै यूनियनले अन्य कार्यक्रम अन्र्तगत जिल्लाका सरकारी निकायका सूचना अधिकारीबीच अन्र्तक्रिया, महिला पत्रकारहरुको लागि अध्ययन अवलोकन भ्रमण, अन्तरमिडीया फुटसल प्रतियोगिताको तय गरेको छ । यस्तैसांस्कृतिक कार्यक्रम, पर्यटन विकास लक्षित कार्यक्रम, वातावरण सम्बन्धी सचेतना अभियान रहेका छन ।
कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यूनियनले श्रमजीवि पत्रकारको अवस्था र कार्यन्वयन्य बिषयमा अन्र्तक्रिया , खुल्ला फोटो पत्रकारीता र जिल्लामा रहेर २५ बर्षभन्दा बढी पत्रकारिता गर्ने अग्रज पत्रकारलाई सम्मान गर्ने कार्यक्रम राखेको छ । बार्षिक कार्यतालिका अनुसार अन्य कार्यक्रमहरुमा पत्रकारका आँंखा तथा दांँतको परीक्षण , इच्छाकामना गाउंँपालिकामा स्वास्थ्य शिविर, पिछडिएका वस्तीहरुमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिने ढकालले जानकारी दिए । रजत बर्षको अन्तिम दिन २०७७ जेठ १३ गतेनै कांँग्रेसका केन्द्रीय नेताहरुको आतिथ्यमा कार्यक्रमको समापन गरिनेछ । सो अवसरमा प्रेस यूनियनको भवन परिषरमा निर्माण गरिने रजत स्तम्भको अनावरण, स्मारिका विमोचना लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।