चितवनको कालिकामा गएराती भएको हत्या घटना रहस्यमय

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाईन (गडुवा) स्थित आफ्नै घरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । ४७ वर्षीय कुमार सिंह श्रेष्ठ आज बिहान घरकै कोठामा मृत अवस्थामा भेटिएका हुन् । बेलुका खाना खान घरमा नआएका बुबा कुमार सिंह श्रेष्ठले करिव ८ः३० बजेतिर छोरा सुमन श्रेष्ठसँग फोनमा घर आउन ढिला हुने बताएपछि घरपरिवार खाना खाएर माथिल्लो तलामा सुतेका थिए । मृतकका छोरा सुमनका अनुसार घरको सबै ढोका लगाइएको र बुबा आउन बाँकी भएकाले मुल ढोका भने लक नगरी छाडिएको उनले बताए ।


मृतक श्रेष्ठ कति बजे घर आएर सुते, उनको कसरी हत्या भयो वा राती चोरले हत्या गरी सुनका गहना लुटे, घटना रहस्यमय भएको छ । स्थानीयले भने घटनामा राती चोरी गर्ने समूह आई उनको हत्या गरी लगाएको ५ तोला सिक्री र ३ तोलाको औठी लगेको हुन सक्ने आशंका गरेका छन् । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (डिएसपी) सन्तोष आचार्यले घटना भएको थाहा पाउने बित्तिकै बिहानै आफू सहित प्रहरीहरु घटनास्थल पुगी अनुसन्धान थालेको बताए ।
प्रहरी घटनास्थल पुगे लगत्तै सो क्षेत्रलाई सिल गरी अनुसन्धान थालेको थियो । घटनास्थलमा इट्टाका टुक्रा भेटिएको छ, त्यस्तैगरी कागजको १ थान मेडिकल मास्क भेटिएको उनले बताए । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर समेत तत्काल ल्याई घटनाको ट्रयाकिङ्ग समेत गरिएको उनले बताए । मृतक श्रेष्ठको घाटीमा सामान्य निलडाम देखिएको र शरीरको अन्य भागमा भने सामान्य देखिएको उनले बताए । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि डिएसपी दुर्गाराज रेग्मी सहितको टोली घटनास्थलमा आइपुगेको थियो ।
प्रहरीले घटनास्थलको अनुसन्धान र मुचुल्का पश्चात् पोष्टमार्टमको लागि मृतक श्रेष्ठको शरीरलाई दिउसो भरतपुर अस्पताल लगेको कालिका वडा नं. १ का वडा अध्यक्ष लिला बहादुर गुरुङ्गले जानकारी दिए । उनको पोष्टमार्टम आज हुन सकेन । पोष्टमार्टम भोली (सोमबार) बिहान हुने जानकारी प्राप्त भएको उनले बताए ।
अहिले यसै भन्ने अवस्था छैन, अनुसन्धान पश्चात् दोषी पक्राउ गरी कारवाही गरिने र घटनाको सत्यतथ्य कुरा बाहिर ल्याइने डिएसपी आचार्यले बताए । घटना भए लगत्तै उनको घर वरपर सयौँ स्थानीयहरु उपस्थित भएका थिए । उनीहरुले घटनाको यथार्थ विवरण छिटो भन्दा छिटो बाहिर ल्याउन प्रशासनलाई अनुरोध समेत गरेका थिए ।