चितवन कालिकाको श्रेष्ठ मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्टले भन्यो हत्या नै हो

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा आइतबार विहान मृत भेटिएका एक व्यक्तिको हत्या नै भएको पुष्टि भएको छ ।

आज  भएको पोष्टमार्टममा ४७ वर्षीय कुमार सिंह श्रेष्ठको हत्या नै भएको देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दुर्गाराज रेग्मीले कालिका दैनिक अनलाईनलाई जानकारी दिए । उनका अनुसार पोष्टमार्टममा मृतक श्रेष्ठको टाउँकोको पछाडीको भागमा चोट, आँखा थिचिएको र घाँटीमा पनि थिचेर हत्या गरिएको देखिएको छ ।

यसअघि श्रेष्ठको चोरको आक्रमणबाट मृत्यु भएको हुन सक्ने स्थानीयले बताएका थिए । उनको गहनाको लागि अपराधीक समूह ,लागु औषध प्रयोग गर्ने समुहले पनि हत्या गरेको हुन सक्ने भएकोले अनुसन्धान कडाईका साथ गर्न उनिहरुले माग गरेका छन । मृतकले लगाएको हातको औठी र सिक्री चोरी समेत भएको बताईएकाे थियो ।

घटनाको प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरीले प्रदेश प्रहरीको सहयोगमा तालिम प्राप्त कुकुरबाट सो घटनाको ट्रयाकिङ समेत गरेको थियो ।
घटनास्थलमा मृतक श्रेष्ठ सुतेको कोठामा इटाहरु देखिएको थियो । उनले प्रयोग गर्ने मोबाइल पनि भुइँमा नै थियो । घटना हेर्दा सुनियोजित भएकोले निष्पक्ष छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही स्थानीयहरुले माग गरेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (डिएसपी) सन्तोष आचार्यले जानकारी दिए ।