विदा छैन गणतन्त्र दिवसमा : तयारी भव्य, काठमाडौंको टुँडीखेलमा विशेष समारोह

काठमाडौं । सरकारले ११ औं गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । जेठ १५ गते बुधबार काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरी भव्यरुपमा गणतन्त्र दिवस मनाउन लागिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने सो कार्यक्रममा प्रधानमन्त्री एवम् गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने, विभिन्न सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने तथा सैन्य कौशल प्रदर्शन गर्ने कार्यक्रम तय भएका छन् ।

कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस–२०७६’ लेखिएको व्यानर प्रर्दशन गर्दै पुष्प वृष्टि गर्ने कार्यक्रम रहेको गृहमन्त्रालयले जनाएको छ ।

त्यसैगरी कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्काउटले मार्च पास गर्ने, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा काठमाडौं उपत्यकाका अन्य नगरपालिकाहरुले सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । गणतन्त्र दिवसको दिन सोही साँझ घरघरमा दिपावली गर्ने कार्यक्रम सरकारले तय गरेको छ ।

काठमाडौंमा गणतन्त्र दिवस विशेष समारोहको सबै प्राविधिक कामहरुको जिम्मा लिएको काठमाडौं महानगरपालिकाले दिवसका दिन आवश्यक सबै व्यवस्था गर्नेछ । त्यसका लागि काठमाडौं महानगरपालिकाले मेयर विद्या सुन्दर शाक्यको नेतृत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति गठन गरेको छ । सो समितिले साउण्ड सिस्टम, मञ्च व्यवस्थापन, कुर्सी व्यवस्थापन लगायतको काम गर्नेछ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरलाई सबै वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्यलगायतलाई उपस्थित गराउने जिम्मा आएको बताए । उनका अनुसार महानगरपालिकाले कार्यक्रम स्थलमा खानेपानी, करिब २ हजार कुर्सी तथा त्रिपालहरुको व्यवस्था गर्ने छ ।

हजारौं मानिस सैनिक मञ्च टुंडीखेलमा उपस्थित हुने भए पनि सर्वसाधारण भने उपस्थित हुन पाउने छैनन् । महानगरपालिकाले व्यवस्था गर्ने कुर्सीमा सरकारी अधिकारीहरु, जनप्रतिनिधि, महानगरका प्रतिनिधिहरु नै बस्ने छन् । महानगर प्रवक्ता डंगोलले दिवसको तयारी पुरा भइसकेको र विहान साढे ७ बजे दिवस विशेष कार्यक्रमहरु सुरु हुने जानकारी दिए ।

दिवसका दिन महानगरले कार्यक्रम अवधिभर एक एम्बुलेन्स र एक दमकल परिचालन गर्नेछ । हेलिकप्टरबाट प्रदर्शन गरिने ब्यानर र वृष्टि गर्ने फूल नेपाली सेनालाई उपलब्ध गराउने, मञ्चमा प्रयोग हुने साउण्ड सिस्टमको व्यवस्था गर्ने काम महानगरको जिम्मामा रहेको छ ।

गणतन्त्र दिवसकै अवसरमा जेठ १६ गते सबै जिल्लाहरुमा वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासहरुमा गणतन्त्र दिवस विविध कार्यक्रमसहित जेठ १४, १५ र १६ गते तीन दिनसम्म भव्य रुपमा मनाउने र साँझ दिपावली गर्ने कार्यक्रम समेत रहेको छ । भव्यरुपमा मनाउन लागिएको दिवसका दिन सरकारले सार्वजनिक विदा भने दिएको छैन ।