हत्या, हिंसा, चोरी तस्करी नियन्त्रण मुख्य उद्देश्य – डिएसपी सन्तोष आचार्य

चितवन । पूर्वी चितवनको रत्ननगर स्थित इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख (प्रहरी नायव उपरीक्षक) सन्तोष आचार्यले यस क्षेत्रमा हत्या, हिंसा, चोरी तस्करी नियन्त्रण तथा अवैध क्रियाकलापहरुको नियन्त्रण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् । काठमाडौबाट दुई हप्ता अगाडि सरुवा भई यहाँ आएका डिएसपी आचार्यले स्थानीयसँगको सहकार्यमा यस क्षेत्रको शान्ति सुरक्षा र भयरहित समाज निर्माणको लागि आफू लागिपर्ने बताए ।

आज पूर्वी चितवनमा कार्यरत पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा कार्यालय प्रमुख आचार्यले प्रहरी र समाज एकअर्काका परिपूरक रहेकाले “समुदाय र प्रहरी साझेदारी” कार्यक्रमलाई प्रभावकारी बनाई अगाडि बढ्ने बताए । प्रहरी प्रधान कार्यालय र प्रहरी महानिरीक्षकको निर्देशन बमोजिम विभिन्न १० बुँदे कार्यक्रम समेत अगाडि बढाइएको उनले बताए । लागुऔषध नियन्त्रण, नदीजन्य पदार्थ दोहन नियन्त्रण, वन पैदावर चोरी तस्करी नियन्त्रण, दुव्र्यसनी, घरेलु मदिरा उत्पादन र विक्री वितरणमा समेत कडाई गरिने उनले बताए ।

महिला, बालबालिकामा हुने हिंसा नियन्त्रण, ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु समुदायको सहकार्यमा अगाडि बढाइने उनले बताए । यस क्षेत्रमा लागुऔषध रोकथाम र नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरणका लागि सडक क्षेत्र र विद्यालय तथा कलेजहरुमा सचेतनामूलक कार्यक्रम गरिने उनले जानकारी दिए । स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र आमसमुदायको सहयोगबाट मात्र यस क्षेत्रको शान्ति सुरक्षा र अमनचयन हुने भएकाले सबैले प्रहरीलाई साथ, सहयोग र सुझाव दिन समेत उनले अनुरोध गरेका थिए । यस कार्यालय अन्तर्गत प्रहरीको जनशक्ति कम भएको भन्दै उनले दरवन्दी अनुसार सुरक्षाकर्मी नहुँदा शान्ति सुरक्षा कायम गर्न अफ्ठ्यारो पर्न सक्ने भएकोले दरवन्दी अनुसारको जनशक्तिका लागि पहल गरिने समेत उनले बताए । साथै उनले प्रहरीको आचरण सुधारका लागि आन्तरीक प्रशिक्षण समेत गरिने उनले बताएका थिए । इलाका प्रहरी कार्यालय टाँडी अन्तर्गतका क्षेत्र र वरपर हाल विभिन्न आपराधिक र चोरीका घटना बढेको पाइएकाले प्रहरीले त्यस क्षेत्रमा विशेष अभियान थालेको समेत बताए ।


कार्यक्रममा प्रहरी निरीक्षक युवराज तिमल्सिनाले प्रहरी र स्थानीयको सहकार्यमा समाजलाई भयरहित बनाउन सकिने बताए । स्थानीयस्तरमा भएका जुनसुकै घटना, दुर्घटनाहरुको तत्काल प्रहरीलाई खबर गर्न समेत उनले सबैमा अनुरोध गरे । यस क्षेत्रमा हुने विभिन्न गैरकानुनी कार्य नियन्त्रण गरी यस क्षेत्रलाई शान्त र भयरहित बनाउन राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज सबैको साथ र सहयोग रहने अपेक्षा समेत उनले व्यक्त गरे ।