चितवन कालिकाका मृगौला पिडित भुवन बास्तोलालाई आर्थिक सहयोग हस्तान्तरण

चितवन । कालिका नगरपालिका वडा नं. ८ गैरीबारी निवासी दुवै मृगौला पिडित भुवन बास्तोलालाई आर्थिक सहयोग भएको छ । दुवै मृगौलाफेल भई उपचाररत बास्तोलालाई नेपाली कांग्रेस नगर समिति कालिका नगरपालिकाले आज रु. १ लाख ७६ हजार हस्तान्तरण गरेको हो ।
पिडित बास्तोलाको बुहारी सिर्जना बास्तोलालाई कालिका ८ गैरीबारी चोकमा आयोजित कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठ, कालिका नगर सभापति राजु श्रेष्ठ, कालिका वडा नं. १ का वडा अध्यक्ष लिलाबहादुर गुरुङ्ग, कालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नेपाली कांग्रेस वडा नं. ९ का वडा सभापति लिलाबहादुर श्रेष्ठ, वडा नं. १ का वडा सभापति चेत बहादुर गुरुङ्ग, नगर कार्य समिति सदस्य बिमला श्रेष्ठ, निरुजा श्रेष्ठ, तरुण दल कालिका नगर समितिका कोषाध्य क्षशंकर लामा लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस नगर समितिको संयोजकत्वमा संकलित सो रकम मृगौला पिडित बास्तोलाको उपचारको लागि हस्तान्तरण गरिएको नगर सभापति राजु श्रेष्ठले जानकारी दिए । हाल भक्तपुर स्थित शहीद धर्मभक्त मानव अङ्गप्रत्यारोपण केन्द्र (भक्तपुर अस्पताल) मा उपचाररत बास्तोलाको दुवै मृगौला फेल भएपछि उनकी श्रीमती कुमारी बास्तोलाको एउटा मृगौला प्रत्यारोपण गरिएको छ । उनको ३ दिन अगाडि मृगौला प्रत्यारोपण भएको हो ।

हाल सम्म करिव २० लाख रुपैया खर्च भइसकेको बास्तोला परिवार थप रकम जुटाउन समस्यामा परेका छन् । उनको उपचारको लागि थप १० लाख रुपैया लाग्ने परिवारजनले बताएका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएका बास्तोला परिवारले उनको उपचारको लागि आर्थिक सहयोग गरिदिनु हुन अपिल समेत गरेका छन् । उनकी श्रीमती कुमारी बास्तोलाले श्रीमानको जीवन रक्षाको लागि स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरुलाई आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गरेकी छन् ।

उनको उपचारार्थ सहयोगको लागि ग्लोबल आइएमई बैंकको खाता नं. बी.५०७०१०००६३४८ मा रकम जम्मा गरिदिनु हुन अथवा सम्पर्क मोबाइल नं. ९८६९७९१११८ मा सम्पर्क गरी आर्थिक सहयोग गरिदिन ुहुन सबैमा अपिल गरेकी छन् । उनको उपचारको लागि यस अगाडि मकाउमा कार्यरत कालिका ८ निवासी कृष्ण बहादुर अधिकारी मार्फत् करिव १ लाख रुपैया सहयोग प्राप्त भएको थियो ।

यस अगाडि उनको उपचारको लागि करिव ३ लाख रुपैया मात्र संकलन भएकोले यस अगाडि उपचारका लागि खर्च भएको रकम समेत तिर्न नसक्ने अवस्थामा परिवारजन रहेको मृगौला पिडित भुवनको भाइबुहारी सिर्जना बास्तोलाले बताईन् । नेपाली कांग्रेस कालिका नगरको समन्वयमा संकलित रकम दाताहरुको नामावली तपशिल अनुसार रहेको छ ।