हावाहुरीबाट कैलालीमा मृत्यु हुनेको संख्या दुई पुग्यो

टीकापुर । कैलाली जिल्लामा आएको हावाहुरीबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

हावाहुरीले कयौं घरका छाना उडाएको छ । हावाहुरीका कारण टीकापुर नगरपालिका वडा नं. २ राजीपुरका ५१ वर्षीय लहानु चौधरीको मृत्यु भएको छ ।

मृतकका आफन्त दीपक चौधरीले दिएको जानकारीअनुसार कुखुराको खोरमा बसेका चौधरीको हावाहुरीले खोरको भित्ता भत्किँदा घाइते भएका थिए ।

घाइते चौधरीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक चौधरीको शव टीकापुर अस्पतालमा राखिएको छ ।

गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।

कैलालीका एसपी सुदीप गिरीकाअनुसार हावाहुरी चलेका बेला चौधरी सवार मोटरसाइकल टिपरमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए ।

हावाहुरीमा परी घाइते भएका ४० जना भन्दा बढीको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।