केन्द्रिय अण्डा उत्पादक संघमा विवाद , शिवराम केसीको नेतृत्वमा नयाँ समिति बन्दै

चितवन । डेढ वर्ष कार्यअवधि वाँकी छदै नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष त्रिलोचन कडेंलले राजिनामा दिएका छन् । संघको शुक्रवार सौराहामा  आयोजित १५ औं वार्षिक साधारण सभामा वहुमत सदस्यहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि अध्यक्ष कडेंलले आफ्नो कार्यसमिति नरहेको घोषणा गरेका हुन् ।

अध्यक्षको कार्यशैली प्रति असन्तुष्ठी जनाउँदै करिव ९५ प्रतिशत सदस्यहरुले हस्ताक्षर समेत संकलन गरेका थिए । साधारण सभा सुरु भए लगत्तै अण्डा उत्पादक किसान गोविन्द शर्माले अध्यक्ष विरुद्ध अविश्वासको प्रस्ताव हाउस समक्ष पेश गरेका हुन् । लगत्तै संघका अध्यक्ष कडेंलले वर्तमान कार्यसमिति र निवर्तमान अध्यक्षबाट सहयोग नपाएको गुनासो गर्दै सदस्यहरुको प्रस्तावलाई समर्थन जनाउँदै आफु अध्यक्ष नरहेको घोषणा गरेका थिए । अण्डाको मुल्य गिरावट आउँदा समायोजनका लागि अध्यक्षले पहल नगरेको,संगठन विस्तारमा सक्रिय भुमिका निर्वाह गर्न नसकेको,राज्यसंग लविङ गर्न नसकेको आरोप किसानहरुको छ ।

वर्तमान अध्यक्ष कडेंलले हाउस समक्ष आफु अध्यक्ष नरहेको घोषणा गरेपछि उनी साधारण सभाबाट वाहिरिएका थिए । लगत्तै किसानहरुले निवर्तमान अध्यक्ष शिवराम केसीलाई अध्यक्ष वनाउने घोषणा गरेका छन् । साधारण सभा भएपनि विषेश अधिवेशन मानेर नयाँ कार्यसमिति चयन गरिने तयारीमा किसानहरु छन् ।

साधारण सभामा नेपालभरका अण्डा उत्पादक किसानहरु सहभागी छन् । अहिले सानो अण्डाको प्रति क्रेट ५० रुपैया,मध्यमको १३० रुपैया र ठुलाको २०० रुपैया तोकिएको छ । जुन मुल्य लागत मुल्यको आधा रहेको पश्चिम चितवन अण्डा उत्पादक कृषक संघका अध्यक्ष राजकुमार श्रेष्ठले वताए ।

यस अघि प्रति क्रेट ३६५ रुपैया रहेको थियो । सप्लायर्ससंग कमिसन खाएर वर्तमान अध्यक्ष कडेंलले किसानहरुको हकहितमा नलागेको किसानहरुको आरोप छ ।