विशालु च्याउ खाँदा दुईको मृत्यु, गम्भिर नौ जनालाई उपचारको लागि चितवनबाट काठमाडौँ लगिदैँ

शिशिर सिंखडा, चितवन, २७ जेठ । विशाक्त च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने ९ जना गम्भिर बिरामी परेका छन् । विशालु च्याउ खाँदा पाल्पा जिल्ला निस्दी गाउँपालिका वडा नं. ३ कार्की डाँडाका ४ वर्षीय विष्णु सिंह ठकुरी र ९ वर्षीय निर्मला ठकुरीको उपचारका क्रममा चितवन स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

४ वर्षीय विष्णुको आइतबार बेलुका र ९ वर्षीय निर्मलाको शनिबार बेलुका उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विशाक्त च्याउ खाएपछि एकै गाउँका ४ परिवारका थप ९ जना गम्भिर बिरामी रहेका छन् । बिरामी हुनेहरुमा ४७ वर्षीय पूर्ण बहादुर खाम्चा, उनकी श्रीमती ३६ वर्षीय चन कुमारी खाम्चा, छोरी १५ वर्षीय बिमला खाम्चा रहेका छन् । त्यसैगरी सोही स्थानका ८० वर्षीय प्रेम सिंह ठकुरी, ३१ वर्षीय दानमाया सिंह ठकुरी, ८ वर्षीय सुमन सिंह ठकुरी, ३१ वर्षीय धन कुमारी ठकुरी, १४ वर्षीय निरुता ठकुरी र १२ वर्षीय निशा ठकुरी रहेका छन् ।

गत शुक्रबार साँझ घर नजिकैको जंगलबाट च्याउ ल्याई तरकारी खाने क्रममा बिरामी भएका ११ जनाको शनिबार मध्यविन्दु अस्पताल नवलपरासीमा उपचार गरिएको थियो । गम्भिर भएका २ जना नाबालकलाई शनिबार नै चितवनको पुरानो मेडिकल कलेजमा थप उपचारका लागि रिफर गरिएको थियो । अन्य बिरामीहरुलाई आइतबार बेलुका चितवन स्थित मनकामना अस्पतालमा उपचारको लागि ल्याइएकोमा उनीहरुको अवस्था समेत गम्भिर भएकाले थप उपचारका लागि काठमाडौँ स्थित बीर अस्पतालमा पठाइएको मनकामना अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले जानकारी दिए ।

उनीहरुको पनि अवस्था गम्भिर रहेको अग्रहरीले बताए । बिरामीहरुको कलेजोमा समस्या देखिएको उनले जानकारी दिए । विशाक्त च्याउको उपचार असम्भव प्रायः भएको भन्दै डा. अग्रहरीले विशालु च्याउले बिरामीको कलेजो, मुटु र रगतमा प्रत्यक्ष असर गर्ने र मृत्यु समेत हुन सक्ने उनले बताए ।

यो समाचार तयार पार्दासम्म विशालु च्याउ सेवन गरी बिरामी भएका ९ जनालाई उपचारका लागि एम्बुलेन्समा काठमाडौँ लाने क्रममा अहिले धादिङको नौबिसे पुगेको बिरामीका आफन्त शोभा खाम्चाले टेलिफोनमा जानकारी दिइन् ।