वडा अध्यक्षले यतिसम्म गरे ! भरतपुर २३ मा गाउँलेलाई थुनेर बाटो घटाए

चितवन । भरतपुर महानगरपालिका बनेपछि बाटो चौडा र फराकिलो बनाउने महानगरपालिकाको नीति नै छ । तर यही महानगरपालिकामा यस्ता दुई जना वडा अध्यक्ष भेटिए जसले सदिऔँदेखि चलनचल्तीमा रहेको बाटो घटाउन ज्यान फालेर लागेका छन् । उनीहरुले स्थानीय वासिन्दाले चलनचल्तीको बाटो नघटाउन अनुरोध गर्दा धम्क्याएनन् मात्रै प्रहरी लगाएर थुनाउने कामसमेत गरेका छन् । अन्त कहिँ नभएको यस्तो काम गर्न उद्दत वडा अध्यक्ष हुन् भरतपुर महानगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष अरुणपीडित भण्डारी र वडा नम्वर २३ का वडा अध्यक्ष नरिनारायण पौडेल ।

अरुणपीडित भण्डारी तिनै वडा अध्यक्ष हुन् जसले केही समयअघि भरतपुर महानगरपालिकामा रिपोर्टिङमा गएका पत्रकारहरुमाथि अभद्र व्यवहार गरेका थिए र त्यसको चर्को आलोचना भएपछि महानगरपालिकाको तर्फबाट पत्रकार सम्मेलन नै गरेर माफी मागेका थिए । आफ्नो हठ नछोड्ने र अरुले भनेको नसुन्ने उनको कार्यशैलीप्रति उनकै पार्टी नेकपाभित्र आलोचना भइरहेको बेलामा चलनचल्तीको बाटोमा डोजर लगाएर खाल्डो पार्ने र घटाउने कार्यको फेरि जनस्तरबाट चर्को आलोचना भएको छ ।

मङ्गलबार विहान अकस्मात रुपमा तीन गाडी प्रहरी, गाउँ बाहिरका केही मान्छे र दुईवटा डोजरसहित गौचरणमा पुगेका वडा अध्यक्षद्वय अरुणपीडित भण्डारी र नरिनारायण पौडेलले गाउँलेलाई धम्क्याएर चलनचल्तीको बाटोको बीचबाट खाल्डो खनेर बाटो साँघुरो बनाउन खोज्दा स्थानीयले विरोध गरे । त्यसरी गलत काम गर्दा रोक्न खोज्नेमा अधिकांश महिला थिए । त्यसपछि विरोध गर्नेहरुलाई वडाअध्यक्ष भण्डारी र पौडेलले आक्रोशित मुद्रामा लोप्पा खुवाउँदै अपशव्द बोल्दै धम्क्याए । त्यति गर्दा पनि महिलाहरुले यस्तो अन्याय सहँदैनौँ भन्दै बाटो घटाउन दिएनन् । त्यसपछि वडा अध्यक्ष भण्डारी र पौडेलले प्रहरीलाई गाउँलेलाई गिरफ्तार गर्न आदेश दिए । प्रहरीले पनि वडा अध्यक्षको आदेश पाउनासाथ गाउँलेलाई धमाधम गाडीमा लगेर कोच्यो र दिनभर गीतानगर वडा प्रहरी कार्यालयमा लगेर राख्यो ।

भरतपुर–२३ को गौचरणमा सदिऔँदेखि चलनचल्तीमा रहेको बाटो घटाउने वडा अध्यक्षको निर्णयपछि नै स्थानीय वासिन्दाले त्यसको विरोध गर्दै आईरहेका थिए । स्थानीयले महानगरपालिका र वडा कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए । महानगर प्रमुख रेनु दाहालले स्थानीयको माग जायज भएकोले सहमतिमै बाटो निर्माण गरिने बताउनुभएको जगतपुर गौचरणका शिवकान्त चालिसेले बताउनुभयो ।

महानगर स्रोतका अनुसार वडा अध्यक्षहरु पटक पटक विवादमा पर्ने कार्यशैलीबाट मेयर रेनु दाहाल पनि दिक्क हुनुहुन्छ । उहाँले बैठकमै वडा अध्यक्षहरुलाई जनतासँग विवाद नहुनेगरि काम गर्न आग्रह गर्ने गर्नुभएको छ । मङ्गलबार पनि जगतपुरमा वडा अध्यक्षहरुले बल मिच्याइँ गरेको खबर आएपछि महानगर कार्यालयबाटै मेयर दाहालले भण्डारी र पौडेललाई फोन गरेर त्यसो नगर्न र तुरुन्त फर्किन निर्देशन दिनुभएको थियो । स्थानीय जनतालाई प्रहरी लगाएर पक्राउने र धम्क्याएर खेद्ने गरेका उनीहरुले मेयरसँग ‘यहाँ कसैको विरोध छैन, दुई चारजना मात्रै हुन्’ भन्ने गलत रिपोर्टिङ गरे । तर उनीहरुले मेयरको निर्देशनसमेत अवज्ञा गर्दै स्थानीयसँग ‘कसैले भनेर केही हुँदैन, तपाईंहरुले सकेको गर्नुस्’ भन्दै प्रहरी राखेर बाटो विगार्ने काम गरिरहे ।

मेयरलाई गलत रिपोर्टिङ गर्ने मध्येका एक जगतपुरका गोपी भूषाल पनि थिए । उनले समेत प्रहरीले जम्मा ६ जनालाई पक्राउ गरेर लगेको मेयरलाई बताएका थिए । पछि मेयरले बुझ्दा १५/२० जना पक्राउ परेका र पक्राउ पर्नेमध्ये अधिकांश महिला छन् भन्ने थाहा पाएपछि मेयरको ‘मुड अफ’ भएको मेयर दाहालको सचिवालय स्रोतले बताएको छ ।

जगतपुर गौचरनका स्थानीय वासिन्दाले मङ्गलबार प्रेस विज्ञप्ति प्रकाशित गरी वडा नम्वर १० का वडा अध्यक्ष अरुणपीडित भण्डारी र वडा नम्वर २३ का वडा अध्यक्ष नरिनारायण पौडेलको प्रत्यक्ष नेतृत्व र निर्देशनमा स्थानीय बासिन्दामाथि प्रहरी लगाएर धरपकड तथा गिरफ्तार गर्ने कार्य भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ– ‘स्वयम् भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले चलनचल्तीको बाटो घटाएर विकास विरोधी काम नगर्न र डोजर लिएर फिर्ता आउन टेलिफोनबाट निर्देशन दिँदादिँदै पनि वडा अध्यक्षहरु अरुणपीडित भण्डारी र नरिनारायण पौडेलले प्रमुखको निर्देशनकोसमेत अवज्ञा गरी राज्यसंयन्त्रको चरम दुरुपयोग गरी, गाउँलेलाई धम्क्याउँदै जबरजस्ती बाटोमा डोजरले खाल्डो बनाएर हिँड्नै नमिल्ने बनाएका छन् ।’

स्थानीय वासिन्दाले सदिऔँदेखि चलनचल्तीमा रहेको साविकको बाटो अन्यायपूर्वक घटाएर वडा कार्यालयले जबरजस्ती साँघुरो बनाउने विकास विरोधी गलत काम गरेको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ ‘निज वडा अध्यक्षद्वय भण्डारी र पौडेलको निर्देशनमा महिलाहरुमाथिसमेत दुव्र्यवहार गर्दै, अपशव्दसमेत प्रयोग गरि २० जना स्थानीयलाई गिरफ्तार गराई दुःख दिने काम भएको छ ।’ गिरफ्तार गरिएकामा अधिकांश महिला थिए । गिरफ्तार गरिएका गाउँलेहरुलाई दिनभर इलाका प्रहरी कार्यालय, गीतानगरमा राखि साँझ छोडिएको छ ।

स्थानीय वासिन्दाको न्यायोचित मागलाई लत्याउँदै, धम्क्याउँदै, प्रहरी लगाएर स्थानीय गाउँलेलाई पक्राउ गर्ने र चलिरहेको सदिऔँ पुरानो बाटो जोतेर हिँड्नै नमिल्ने गरि बिजोग बनाउने काम भएको भन्दै विज्ञप्तिमा स्थानीय बासिन्दाले उक्त अन्यायपूर्ण कार्यको घोर भत्र्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘जनप्रतिनिधिले आफ्नो हैसियत बिर्सिएर गुण्डागर्दी र अराजक शैलीमा राज्यसंयन्त्रको चरम दुरुपयोग गर्दै स्थानीय सोझासिधा गाउँलेमाथि गरेको उक्त दमनपूर्ण कार्यको जति निन्दा गरेपनि कम हुन्छ ।’

साविकको जगतपुर गाविस वडा नम्बर १ र २ मा पर्ने सो बाटो यस क्षेत्रकै सबैभन्दा पुरानो बाटो रहेको स्थानीयको दाबी छ । कदम आधारभूत विद्यालय रहेको खड्गौली चोकदेखि गौचरणको यही मूल बाटोले जगतपुरलाई केरुङ्गा खोलाको पुलबाट वडा नम्बर २४ हुँदै त्यस वरिपरीको क्षेत्र तथा मेघौलीसम्म जोडेको स्थानीयले जनाएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडा अध्यक्ष नरिनारायण पौडेल र भरतपुर १० का वडा अध्यक्ष अरुणपीडित भण्डारीले स्थानीयले दुई मिटर जग्गा छोडौँ र बाटोलाई नौ मिटरको बनाउँ भनेर अनुरोध गर्दा स्थानीय नमानेपछि विवाद चर्किएको दावी गर्नुभयो ।

स्थानीय दिपेन्द्र चालिसेले पहिलेदेखिनै १० मिटर रहेको सो बाटो वडा अध्यक्षको सक्रियतामा झनै घटाएर कतिपय ठाउँमा त एउटा गाडी पनि राम्रोसँग छिर्न नमिल्ने गरि डोजर हानेर खाल्डो पारेर छोडिएको आरोप लगाउनुभयो । अर्का स्थानीय शिव चालिसेले भरतपुर महानगरपालिकाका प्रमुखले समेत विवाद नसुल्झिएसम्म काम रोक्नु भन्दा भन्दै वडा अध्यक्षको बल मिच्याइँले काम गरिरहेको बताउनुभयो । उहाँले मङ्गलबार खाल्डो खनेर छुट्याइएको बाटो ६ मिटर भनिए पनि त्यो भन्दा धेरै कम रहेको र भइरहेको बाटो घटाएर गाउँलेको घरवास उड्ने गरी जग्गा काटेर बाटो बढाउने नियत राखेको बताउनुभयो ।

६० वर्षअघिदेखि चलनचल्तीमा रहेको खड्गौली चोकदेखि गौचरण हुँदै जाने यो बाटो झण्डै १० मिटर चौडाईको रहेको छ । साना–ठूला निजी सवारी साधनका साथै दैनिक सार्वजनिक बससमेत गुड्ने यो बाटो विगतमा स्थानीय निकायले छुट्याएर तारबार गरि मर्मत सम्भार गर्दै आएको स्थानीय ऋषिराम पौडेलले बताएका छन् । ‘चलनचल्तीको बाटो घटाउन यतिधेरै जबरजस्ती गर्नुमा नियत राम्रो देखिएन’ उनले भने– यदि यो बाटो साँघुरो भयो, बढाउन पर्यो भने त स्थानीय वासिन्दासँग आएर छलफल गर्नुपर्यो नि, झन् चलनचल्तीको भन्दा पनि घटाएर बिजोग बनाएर छोड्ने ?