बाख्रापालन र दुग्ध उत्पादनको विकास सम्बन्धि प्रदेश नं. ३ स्तरीय गोष्ठी चितवनमा

शिशिर सिंखडा,चितवन, ३० जेठ । नेपाल लाइभस्टक सेन्टर, इन्नोभेसन आयोजना, विकेन्द्रीत आयोजना सहयोग इकाई, हेटौडा, मकवानपुरको आयोजनामा ‘स्थानीयस्तरमा आयोजनाको अभिमुखीकरण गोष्ठी’ सम्पन्न भएको छ । प्रदेश नं. ३ का चितवन, मकवानपुर, ललितपुर र काभ्रेका किसान तथा विभिन्न किसानसँग सम्वद्ध समूह तथा महासंघका प्रतिनिधिहरुको सहभागी रहेको एकदिने कार्यक्रम चितवनको रत्ननगरमा आज भएको हो ।
बाख्रापालन व्यवसायको प्रवद्र्धन र मासुजन्य पदार्थको तथा दुग्धजन्य उत्पादन वृद्धि गर्न पर्ने समस्या, चुनौती र अवसरको बारेमा कार्यक्रममा छलफल भएको थियो । वरिष्ठ पशु विकास अधिकृत जगतवन्धु नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा विकेन्द्रीत आयोजनाका वरिष्ठ पशु विकास अधिकृत डा. सुरेन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. विमल कुमार निर्मल, विकेन्द्रीत आयोजना सहयोग इकाई हेटौडाकी पशु विकास अधिकृत डा. शर्मिला कुमाल लगायतले आ–आफ्ना भनाई राखेका थिए ।
सो गोष्ठीमा ५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशु विकास महाशाखा प्रदेश नं. ३ का वरिष्ठ पशु विकास अधिकृत डा. शरण पाण्डेले डेरी तथा मासु क्षेत्र विकासका सम्भावना, अवसर र चुनौतीसँगै मन्त्रालयको भावी रणनीतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तैगरी वरिष्ठ पशु विकास अधिकृत डा. सुरेन्द्र यादवले आयोजना सम्बन्धी परिचय तथा संक्षिप्त जानकारी तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले आयोजना लागु भएका जिल्लाहरुमा दुग्ध विकासको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोही अवसरमा नेपाल बाख्रा व्यवसायी महासंघका अध्यक्ष श्याम प्रसाद पोख्रेलले आयोजना लागु भएका जिल्लाहरुमा मासु क्षेत्र विकासको अवस्था र नेपाल बाख्रा व्यवसायी महासंघको भूमिकाको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तैगरी घाँस विकास महासंघका अध्यक्ष गोपाल दुलालले पशुजन्य उत्पादनमा आत्मनिर्भरतासँगै दिगोपना ल्याउन घाँसको महत्व, विकास र संघको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।