विषादी परीक्षण प्रकरण : सरकार भन्छ ६ महिना लाग्छ, मन्त्री भन्छन् एक वर्ष लाग्छ

काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा एक वर्ष लाग्ने बताएका छन् ।

तेश्रो मुलुकबाट आयात हुने फलफूल र तरकारीमा ६ महिनाका लागि विषादी परीक्षण नगर्ने सरकारको निर्णय गरेपनि कृषि मन्त्री खनालले एकीकृत विषादी परीक्षणको सुरुवात गर्न कम्तिमा एक वर्ष लाग्ने बताएका हुन् ।

राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा विनियोजित बजेटमाथि बैठकमा उठेका प्रश्नको सम्बोधन गर्ने क्रममा उनले सरकारले पूर्वाधार निर्माण गरी ६ महिनापछि परीक्षण सुरु गरिने भनेपनि यो अवधिमा घोषणा गरिए अनुसार एकीकृत र प्रविधियुक्त परीक्षण सुरु गर्न नसकिने बताए ।

एक नम्बर प्रदेशको बिर्तामोड, दुई नम्बरको सर्लाही, तीन नम्बरको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल र ७ नम्बर प्रदेशमा रहेका २ वटा विषादी परीक्षण केन्द्रबाट विषादी परीक्षण हुँदै आएकोमा अहिले भने रोकिएको उनले जानकारी दिए । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समूहको परीक्षण गर्ने भएपनि बाँकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उनले स्पष्ट पारे ।

असार २ गते राजपत्रमा प्रकाशित गरी आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफ्नै निर्णय उल्टाउँदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुँदै आएको छ ।

सरकारले असार २ गते निकासी पैठारीसम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो, जसमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ ।

सरकारको निर्णपछि काठमाडौंस्थित भारतीय दूतावासले लिखित पत्र लेखेरै विरोध गरेको थियो । त्यपछि तयारी नपुगेको भन्दै ६ महिनालाई विषादी जाँच गर्ने निर्णय सरकारले स्थगित गरिसकेको छ ।