विभागीय टिम पुलिस क्लवले उचाल्यो जेसीज विकास रनिङ शिल्ड फूटबलको उपाधि

चितवन । चितवनको नारायणगढमा भएको टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । आज (शनिबार) भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाई–ब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको हो । टाई–ब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को सहज जित निकालेको हो । चितवनका कप्तान रुमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार विफल भयो भने सुधांस महतो र अजय गुरुङको प्रहार भने गोल भएको थियो । तर, पुलिसका तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोल गरे ।

जितसँगै पुलिसले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ र रनिङ शिल्ड पाएको छ । उपविजेता बनेको चितवन–११ ले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार र उपविजेता शिल्ड पाएको छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवान बेस्ट प्लेयर बने । उनले २५ हजार नगद पुरस्कार पाए । त्यस्तै उत्कृष्ट गोलरक्षक बनेका पुलिसका सत्रुधन चौधरी, उत्कृष्ट रक्षक बनेका चितवनका सुधांस महतो, उच्च गोलकर्ताद्वय पुलिसका सुमन लामा र चितवन–११ का रुमेश बर्तौला र अनुशासित टिम घोषित जावलाखेल फूटबल क्लबले जनही १५ हजार नगद पुरस्कार पाए ।

फाइनल खेलको म्यान अफ दी म्याच बनेका पुलिसका डिफेण्डर मनबहादुर विश्वकर्माले १० हजार पुरस्कार पाए । नारायणगढ जेसीजको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १० टिम सहभागी थिए ।