महोत्सवमा भ्रष्टाचार र संघको अधिवेशन नगरेको भन्दै उ.वा.संघ रत्ननगरका अध्यक्ष रेग्मी विरुद्ध अख्तियारमा उजुरी

चितवन । पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । संघको गत २०७४ सालमा सम्पन्न भएको रत्ननगर महोत्सवमा अध्यक्ष रेग्मीले विभिन्न शीर्षकमा टेण्डर विना नै महोत्सवको काम गर्न दिई लाखौ रकम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ ।

त्यसैगरी अध्यक्ष रेग्मीले यही २०७६ पुष मसान्तभित्र संघको विधान अनुसार अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठन गर्नुपर्नेमा सोको तयारी नगरी पुनः २०७६ को रत्ननगर महोत्सव पुषको अन्तिम हप्ता गर्ने तयारी गरेको उजुरीमा रहेको स्रोतले बताएको छ । महोत्सव गर्दा आर्थिक लाभ हुने भएकाले अधिवेशन भन्दा महोत्सवलाई प्राथमिकता दिएको पाइएकोले तत्काल महोत्सव पूर्व नै संघको अधिवेशन गर्नुपर्ने समेत उजुरीमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा यही कार्तिक २० गते उजुरी दर्ता भएको बताइएको छ । सोको दर्ता नं. सी–१२–२२५ रहेको स्रोतले बताएको छ ।
स्मरण रहोस्, यस अगाडि नै संघको अधिवेशन र महोत्सवको सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा समाचारहरु प्रकाशित भइसकेका थिए ।

photo by.  www.news24nepal.tv